नमूना मसलाबाली गाउँ : बेसार निर्यात शुरु

महेन्द्रनगर । कृषि ज्ञान केन्द्र कञ्चनपुरले सञ्चालन गरेको नमूना कृषि गाउँ कार्यक्रमअन्तर्गत यहाँको दोधारा चाँदनी नगरपालिकाका किसान मसलाबालीमा सक्रिय भएर लागेका छन् ।
यहाँका नौवटै पालिकामा मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रमअन्तर्गत मसलाबाली, केरा खेती, उखु र तरकारी खेतीलाई प्राथमिकतामा राखेर अगाडि बढाइएको छ । दोधारा चाँदनीमा गत वर्षदेखि अनुदानसहित लागू भएको नमूना मसलाबाली कार्यक्रममा स्थानीय किसान आकर्षित भएका हुन् ।
गत वर्ष नमूना गाउँ कार्यक्रमअन्तर्गत दोधारा चाँदनीका मसलाखेतीमा आबद्ध किसानलाई बीउ, मसला उद्योग स्थापनाका लागि घर निर्माण र मेशिनरी सहयोगका लागि रु ५० लाख अनुदान दिइएको कृषि ज्ञान केन्द्रका प्राविधिक जनकबहादुर सिंहले जानकारी दिनुभयो ।
“अहिले त्यहाँका किसानले दुई हजार क्विन्टल बेसार र १५५ क्विन्टल अदुवा उत्पादन गरेका छन्”, प्राविधिक सिंहले भन्नुभयो, “उनीहरुको उत्पादनलाई बजारीकरण गर्न सहजीकरण गरेको छु ।” दोधारा चाँदनीमा उत्पादन भएको बेसार अहिले काभ्रेलगायतका अन्य जिल्लामा निर्यात भइरहेको सिंहको भनाइ छ ।
“विभिन्न व्यक्ति तथा निकायसित समन्वय गरेर पहिलो चरणमा २०० क्विन्टलभन्दा बढी बेसार निर्यात भएको छ”, उहाँले भन्नुभयो, “कार्यक्रमको कार्यविधिमा एउटा नमूना कृषि गाउँमा कम्तीमा १०० घरधुरी आबद्ध हुनुपर्ने प्रावधान छ ।”
दोधारा चाँदनीमा मसला उद्योग सञ्चालनका लागि चालु आर्थिक वर्षमा रु ५० लाख अनुदान रकमसमेत विनियोजन गरिएको छ । उहाँले उत्पादन र उत्पादकत्वलाई वृद्धि गरी निर्यात प्रर्वद्धन गर्ने उद्देश्यका साथ नमूना कृषि गाउँ स्थापना गरिएको बताउनुभयो ।
कृषि ज्ञान केन्द्रका अनुसार यहाँको बेलौरी, पुनर्वास नगरपालिका र बेल्डाँडी र लालझाडी गाउँपालिकामा नमूना उखु गाउँ, भीमदत्त नगरपालिकाका नमूना केरा खेती गाउँ, दोधारा चाँदनीमा नमूना मसला, वेदकोटमा केरा र तरकारी नमूना गाउँ, शुक्लाफाँटा नगरपालिकामा नमूना तरकारी गाउँ र कृष्णपुरमा नमूना बाख्रापालन सञ्चालनमा रहेका छन् ।
त्यसैगरी मुख्यमन्त्री नमूना गाउँ मसलाबाली समन्वय समिति दोधारा चाँदनीका अध्यक्ष टीकादेवी मगरले किसान मसलाबालीमा सक्रिय हुँदै गइरहेको बताउनुभयो । उहाँले दोधारा चाँदनी–९ का करिब २०० किसानले ९० बिघा जमिनमा बेसार खेती गरिरहेको जानकारी दिनुभयो ।
ज्ञान केन्द्रसितको समन्वयमा बेसार निर्यात भइरहेको जानकारी दिँदै उहाँले भारतीय व्यापारी पनि गाउँमा बेसार खरिदका लागि आइरहेको बताउनुभयो । कोरोना भाइरसको सङ्क्रमणका बेला बेसारपानीको प्रयोगबारे चर्चा पाएसँगै यसले बजार पाउनेमा किसान आशावादी रहेको अध्यक्ष मगरको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्