लुम्बिनीमा कोरोना सङ्क्रमणको दर शून्यतर्फ
रुपन्देही । सुरुवाती समयमा कोरोना भाइरस सङ्क्रमणका हिसाबले ‘रेड जोन’ मा परेको लुम्बिनी प्रदेशमा कोरोना सङ्क्रमणको दर न्यून हुँदै गएको छ ।
प्रदेशका १२ जिल्लामध्ये चार वटा जिल्लामा कोरोना भाइरस सङ्क्रमण दर शून्यमा झरिसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
लुम्बिनीका पहाडी जिल्लाहरू गुल्मी, अर्घाखाँची, रोल्पा र रुकुम पूर्व हाल सङ्क्रमण शून्य जिल्लाहरू हुन् ।
सुरुवाती समयमा ठुलो सङ्ख्यामा संक्रमित रहेको लुम्बिनी प्रदेशमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय १७ मात्र रहेको छ । संक्रमण पुष्टि हुने दरमा समेत निकै कमी आउन थालेको मन्त्रालयले जनाएको छ ।
प्रदेश मन्त्रालयको रेकर्ड अनुसार रुपन्देहीमा सबैभन्दा बढी ३८ जना सक्रिय संक्रमित छन् ।
त्यसै गरी दाङमा २५, बाँकेमा २०, पाल्पामा १३, बर्दियामा १०, कपिलवस्तु र नवलपरासीमा ५–५ जना र प्युठानमा एक जना सक्रिय संक्रमित छन् ।
प्रदेशमा हालसम्म कुल सङ्क्रमितको सङ्ख्या २७ हजार ४ सय ७५ पुगेको छ । जसमा २६ हजार ९ सय ४९ जना निको भइसकेका छन् भने ४ सय ६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
प्रदेशको सबैभन्दा सक्रिय संक्रमित रहेको जिल्ला रुपन्देहीसहित अन्य जिल्लाहरूमा अहिले खोप अभियान जारी रहेको छ ।
चरणबद्ध रुपमा खोप लगाउने योजना अनुरूप जिल्लाका पालिकाहरूको समन्वयमा ज्येष्ठ नागरिकका लागि कोरोना भाइरस विरुद्धको खोप दिने काम भइरहेको छ भने दोस्रो चरणको खोप अभियानको थालनी भएको छ ।
रुपन्देहीमा आइतबारदेखि सुरु अभियानमा जिल्लाका सबै ज्येष्ठ नागरिकलाई खोप दिने गरी काम भइरहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा.राजेन्द्र गिरीले बताउनुभयो । पहिलो डोज खोप लगाएको १० देखि १२ हप्ताको फरकमा दोस्रो डोज खोप लगाउनुपर्छ ।








प्रतिक्रिया राख्नुहोस्