तपाईँ सुन्दै हुनुहुन्छः

सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन अभिमुखीकरण

सप्तरी । भूमि सम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय सदस्य जगदेव यादवले सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई एउटा घर निर्माण गर्न जग्गाको धनी पुर्जा उपलब्ध गराएरै छाड्ने प्रतिबद्धता जनाउनुभएको छ ।

मङ्गलवार कञ्चनरुप नगरपालिकामा भूमि आयोगद्वारा  आयोजित अभिमुखीकरण कार्यक्रमका प्रमुख अतिथि यादवले आफूहरू कुनै दल र नेताबाट प्रभावित नभई निष्पक्ष काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसमा कुनै दलको वा कसैको जबरजस्ती सिफारिसमा बिना रेकर्डका व्यक्ति वा घर परिवारलाई सेवा प्रदायक बनाइने छैन ।’  उहाँले थप्नुभयो, ‘निष्पक्षरुपमा सत्य तथ्य डाटा निकालेर काम गर्न स्थानीय तहका जनप्रतिनिधिहरुसँग आग्रह गर्दछु ।’ यादवले राजनीतिकरणबाट जोगाए मात्र सही सुकुम्बासी र अव्यवस्थित बसोबासीले भूमि पाउने बताउनुभयो ।

कार्यक्रममा भूमि आयोग सप्तरीका अध्यक्ष देव नारायण चौधरीले अहिलेको आयोग पहिलाको जस्तो सरकार परिवर्तन हुँना साथ परिवर्तन हुने आयोग नभएको बताउँदै थालिएका कामहरू अब अधुरै नरहने बताउनुभयो । चौधरीले कानूनकोे व्यवस्थाको अक्षरशः पालना गरी सत्य र सही ढङ्गबाट काम हुने दाबी समेत गर्नुभयो  ।

कार्यक्रमको अध्यक्षता गर्नु भएका नगर प्रमुख वसन्त कुमार मिश्रले जग्गा वितरण कार्यमा कुनै हालतमा पनि भेदभाव तथा पक्षपात नहुने बताउनुभयो ।

कार्यक्रममा सप्तरी आयोगका बुुद्घि सदस्य जयप्रकाश ठाकुर, महिला सदस्य गीता पौडेल,  नगर उपप्रमुख निरु पोखरेल, प्रमुख प्रशासकीय अधिकृत नवराज खड्का, सञ्चाकर्मीहरु, सङ्घ संस्थाका प्रतिनिधि, कर्मचारी र कार्यपालिकाका सदस्यहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button