उपभोक्ता अधिकार दिवसका अवसरमा तीन जना सम्मानित
बाँके । विश्व उपभोक्ता अधिकार दिवसको सन्दर्भ पारेर उपभोक्ता सचेतनाको क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएको भन्दै नेपालगन्जमा सोमबार तीन जनालाई सम्मान गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका उपभोक्ता हित संरक्षण समिति, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय बाँकेले अधिवक्ता वसन्त गौतम, पत्रकार अर्जुन वली र एम्मी मिट मार्टका दीपेन्द्रराज श्रेष्ठलाई सम्मान गरिएको हो ।
नेपालगन्ज उपमहानगरपालिका उपभोक्ता हित संरक्षण समितिका अध्यक्ष तथा उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख डा. धवलशम्शेर राणा लगायतले सम्मान पत्र प्रदान गर्नुभयो ।
नेपालगन्ज उपमहानगरपालिका उपभोक्ता हित संरक्षण समिति, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय बाँकेको संयुक्त आयोजनामा भएको कार्यक्रममा सहभागीहरूले उपभोक्ता स्वयम सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नगर प्रमुख राणाले उपभोक्ता सचेत हुने, उद्योगी व्यवसायी आफैमा सचेत भएमा महत्त्वपूर्ण उपलब्धि हुने बताउनुभयो । उपप्रमुख मगरले अनुगमन भन्दा पनि उपभोक्ता सचेतना महत्त्वपूर्ण भएको भन्दै प्रत्येक नागरिक आफैमा सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, वाणिज्य कार्यालयका प्रमुख कृष्णप्रसाद पौडेल, घरेलु कार्यालयका प्रमुख मोहन सुवेदी, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अव्दुलवाहिद मन्सुरी लगायतले उपभोक्ता अधिकारबारे सचेतनामूलक अभियान चलाउनुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्