तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीका स्याउ किसानलाई साँढे २ करोड बिमा रकम भुक्तानी 

जुम्ला । मौसममा आधारित स्याउ खेतीको बिमा गरेका कर्णालीका किसानलाई क्षतिपूर्ति बापत करिब साँढे २ करोड बराबरको बिमा रकम भुक्तानी गरिएको छ ।

माथिल्लो कर्णालीका जुम्ला, कालिकोट र मुगुका गरी १ हजार ३ सय ९१ जना किसानलाई २ करोड ५५ लाख क्षतिपूर्ति रकम हस्तान्तरण गरिएको हो । प्रति बिरुवा ४२ रुपैयाँमा बिमा गराएका किसानले भुक्तानी भने प्रतिबिरुवा २ सय ७० रुपैयाँ पाएका छन् ।

जसमा जुम्लाका ७ सय ४७ जना किसानले ४९ हजार बिरुवाको बिमा गराएका थिए । प्रति बिरुवा २ सय ७० रुपैयाँका दरले १ करोड ३३ लाख बिमा दाबी रकम भुक्तानी गरिएको छ । जिल्लामै सबैभन्दा बढी ७ सय बिरुवाको बिमा गराएका पातारासीका किसान अधिराज विष्टले १ लाख ८९ हजार भुक्तानी पाएका छन् ।

त्यस्तै कालिकोटका ३ सय २६ जना किसानले २ हजार ६ सय बिरुवाको मौसममा आधारित स्याउ बिमा गराएका थिए । प्रति बिरुवा २ सय ७० रुपैयाँका दरले कालिकोटका ३ सय २६ किसानले ७० लाख २० हजार क्षतिपूर्ति रकम भुक्तानी पाएका छन् । साथै मुगुका ३ सय १८ जना किसानले १ हजार ९ सय बिरुवाको बिमा गरे बापत ५१ लाख ३० हजार भुक्तानी पाएका छन् ।

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड प्रदेश शाखा कार्यालय जुम्लाले बिमा गरेका किसानलाई घरदैलामै गएर क्षतिपूर्ति रकम दिएको बिमा कम्पन्नीका कर्णाली इन्चार्ज ऋषिराम पाण्डेले बताउनुभयो ।

कर्णालीका किसानहरूले गत वर्ष स्याउ फल्ने बेला परेको असिनाले क्षति गरेका थिए । सोही बिमा गराएका किसानहरूले कोरोनाका कारण केही ढिला क्षतिपूर्ति वितरण गरिएको पाएको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका इन्चार्ज ऋषिराम पाण्डेले उल्लेख गर्नुभयो ।

मौसमी स्याउ असिना र सुक्खा खडेरीले क्षति पुर्‍याएका तथा स्याउ उत्पादन घट्दा घाटा व्यहोरेका किसानले बिमा रकम पाउँदा राहत महसुश गरेका छन् । गत वर्ष वैशाखदेखि चैत १५ सम्म किसानले बिमा गराएका थिए ।

शिखर इन्सोरेन्सले स्याउको बिमासँगै जीवन बिमा पनि गर्न थालिएको हुनाले एक सय रुपैयाँले एक लाख रुपैयाँसम्मको बिमा गर्न सकिने पाण्डेले बताए । स्याउ बगैँचामा काम गर्न जाँदा चोटपटक लागेमा ७५ प्रतिशत र मृत्यु भएमा एक लाख रुपैयाँ दिने नीति शिखरले ल्याएको उनले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button