तपाईँ सुन्दै हुनुहुन्छः

महिला एवं पुरुष भारोत्तोलन प्रतियोगितामा १४ स्वर्ण जित्दै नेपाल प्रहरी प्रथम

सप्तरी । भारोत्तोलनका राष्ट्रिय खेलाडी देबसुन्दर यादवको स्मृतिमा सप्तरीमा आयोजित प्रथम राष्ट्रिय महिला एवं पुरुष भारोत्तोलन प्रतियोगितामा १४ स्वर्ण जित्दै नेपाल प्रहरी प्रथम भएको छ ।

सात स्वर्ण जित्दै बर्दिया दोस्रो तथा समान ४/४ स्वर्ण जित्दै नेपाली सेना, कञ्चनपुर र आयोजक सप्तरी तेश्रो स्थान प्राप्त गरेका छन् ।

आइतबार अबेर रातीसम्म चलेको प्रतियोगिताको सोमबार अन्तिम नतिजा सार्वजनिक गरिएको छ ।

प्रतियोगितामा पुरुषतर्फ कञ्चनपुरका सुभाष उपाध्याय स्ट्रोङगेस्ट म्यान अफ द टुर्नामेन्ट तथा सोही जिल्लाका अशोक सिंह भण्डारी राइजिङ प्लेयर म्यान अफ टुर्नामेन्ट घोषित भए ।

त्यस्तै महिलातर्फ नेपाल प्रहरीकी तारा पुन स्ट्रोङगेस्ट वुमन अफ द टुर्नामेन्ट तथा सप्तरीकी सरिता यादव राइजिङ प्लेयर वुमन अफ टुर्नामेन्ट घोषित भइन ।

प्रतियोगिता समाप्तिपछि  भारोत्तोलन सङ्घ सप्तरीका अध्यक्ष महेश प्रसाद यादवको अध्यक्षतामा आयोजित पुरस्कार वितरण समारोहमा नेपाल भारोत्तोलन संघका केन्द्रिय अध्यक्ष रामकृष्ण श्रेष्ठ, पूर्व मन्त्री उमेश यादव, राजविराज नगरपालिका प्रमुख शम्भु यादव, खेलकुद पत्रकार मञ्च सप्तरीका अध्यक्ष मनोज माझी, सञ्चारकर्मी नवीन गुप्ता, पूर्व सभासद् लक्ष्मी चौधरी, संघका सल्लाहकार सूर्यनाथ यादव लगायतले विजयी खेलाडीहरूलाई पुरस्कार वितरण गर्नुभयो ।

जिल्ला भारोत्तोलन सङ्घ सप्तरीको आयोजनामा सञ्चालित प्रतियोगितामा ७ वटै प्रदेशका साथै नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका गरी १ सय २० खेलाडीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button