विद्यालयको पठनपाठन बन्द गरी महायज्ञ शुरु

सप्तरी । विष्णु महायज्ञको बहानामा सप्तरीको राजगढ गाउँपालिकाको सबै विद्यालय सोमवारबाट बन्द गरिएको छ ।
महायज्ञमा सहभागी हुनकै लागि विद्यालय बन्द गर्न गाउँपालिका अध्यक्ष परमानन्द यादवले विद्यालयका प्रधानाध्यापकहरूलाई निर्देशन दिएपछि पूर्व जानकारी नै नगरी विद्यालय बन्द गरेपछि गाउँपालिकाका १९ वटा विद्यालयका विद्यार्थीको पठनपाठन प्रभावित भएको हो ।
श्री जनता शङ्कर माध्यमिक विद्यालयका एक विद्यार्थीले नाम नबताउने सर्तमा भने पूर्व सूचना विना विद्यालय बन्द गरेपछि ठुला विद्यार्थी देखि बालबिकास सम्मका विद्यार्थी विद्यालय आएर छुट्टी भएको सुन्दा अलपत्र परे । विद्यार्थीहरूको एसइई जेठमा हुने भएको छ । कुनै पनि विषयको कोर्स पूरा भएको छैन । कसरी तयारी गर्ने ?
कोभिड १९ का कारण लामो समयसम्म बन्द भएर विद्यालय खुलेपछि कुनै पनि बहानामा विद्यालय बन्द नगरी कोर्स पूरा गर्नु पर्नेमा भोज, राजनीतिक व्यक्तिको शोक, धर्मकर्म लगायत बहानामा बारम्बार विद्यालय बिदा दिँदै आएको ती विद्यार्थीले गुनासो गरे ।
बेलिह मावि को दक्षिण पट्टि खेतमा विष्णु महायज्ञ हुदैछ । उक्त विद्यालयमा साधु सन्तको सुत्ने कोठा तथा स्टोरको रूपमा प्रयोग गरेकोले करिब दुई हप्ता देखि सो विद्यालयको पठनपाठन अवरुद्ध रहेको स्थानीयले बताए ।
यस सम्बन्धमा श्री जनता शङ्कर मावि राजगढका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धिरेन्द्र यादवले आफूलाई विद्यालय बन्द हुने विषयमा अग्रिम जानकारी नभएको बन्द भएपछि मात्र थाहा पाएको बताउनुभयो ।
राजगढ गाउँपालिका अध्यक्ष परमानन्द यादवले विष्णु महायज्ञमा शिक्षक, विद्यार्थी कर्मचारी लगायत सबैलाई एक दिन भए पनि धर्ममा भाग लिन बिदा गरिएको बताउनुभयो ।
यस सम्बन्धमा जिल्ला शिक्षा समन्वय इकाई प्रमुख फडिन्द्र खत्रीले स्थानीय चाडपर्व लगायतमा स्थानीय सरकारले बिदा दिने प्रावधान रहे पनि कोभिड–१९ का कारण निकै दिनसम्म पठनपाठन अवरुद्ध रहेकोले समय व्यवस्थापन गरेर कुनै पनि बहानामा पठनपाठन अवरुद्ध नगरिदिएको भए राम्रो हुने बताउनुभयो ।
सोमबारदेखि शुरु भएको महायज्ञ ९ दिनसम्म चल्ने बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्