तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानबाट ४ करोडको बुर्नी अदुवा निकासी 

सल्यान । सल्यानबाट चालु आर्थिक वर्ष २०७७/२०७८ मा ४ करोडको बुर्नी अदुवा निकासी भएको छ ।

कृषि विकास कार्यालयका अनुसार जिल्लामा ८ सय २५ मेट्रिक टन बुर्नी अदुवा उत्पादन भएको छ ।

बेमौसमी उत्पादन भएकाले किसानहरूले बुर्नी अदुवाको राम्रो मूल्य पाएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशम कुमार बस्नेतले जानकारी दिनुभयो ।

उत्पादित अदुवा मध्ये ५ मेटिक्टन अदुवा जिल्ला भित्र नै खपत हुने गरेको छ भने बाँकी ८ सय २० मेटिक्टन बुर्नी जिल्ला बाहिर निकासी भएको बस्नेतको भनाई छ ।

जसबाट जिल्लामा ४ करोड १ लाख रुपैयाँ भित्रिएको छ । बुर्नी बेमौसममा निकालिने भएकाले किसानले राम्रो मूल्य पाउने गरेको बस्नेतले बताउनुभयो ।

विगतका वर्षझैँ व्यावसायिक रुपमा अदुवा खेती गर्ने किसानहरूको सङ्ख्यामा कमी भएको र अदुवाले उचित मूल्य नपाउँदा किसानहरूले व्यावसायिक खेती गर्न आकर्षित हुन नसकेको कार्यालयले जनाएको छ ।

सल्यानमा  गत आर्थिक वर्षमा १ हजार ७ सय २० हेक्टर क्षेत्रफलमा अदुवा खेतीबाट २५ हजार ८ सय मेट्रिक टन उत्पादन भएको थियो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण जोन कार्यक्रम तथा कृषि विकास कार्यालयकै विभिन्न ब्लक कार्यक्रममार्फत अदुवा खेतीतर्फ किसानहरूलाई आरक्षित गर्ने कार्यक्रम गरी रहेता पनि मूल्यको उचारचडावका कारण किसान निरुत्साहित हुँदै गइरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button