लोपोन्मुख अवस्थामा पुगेको कृष्णसार शुक्लाफाटा निकुञ्जमा फस्टाउँदै

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्जको हिरापुर फाटामा ६ वर्ष अघि स्थानान्तरण गरी ल्याइएका कृष्णसारको सङ्ख्या उल्लेखनीय रुपमा वृद्धि हुँदै गएको छ ।
स्थानान्तरणको सुरुको समयमा ४२ वटा कृष्णसार ल्याइएको शुक्लाफाटामा ६ वर्षको अवधिमा बढेर १ सय १३ पुगेका छन् ।
बर्दियाको खैरीपुरपछि कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा मात्र पाइने लोपोन्मुख अवस्थामा पुगेको कृष्णसारको संरक्षणमा निकुञ्ज कार्यालयले निकै सफलता हात पारेको सहायक संरक्षण अधिकृत रविन चौधरीले बताउनु भएको छ ।
कृष्णसारको संरक्षणमा निकुञ्जले विशेष गरी आहारालाई प्रमुख प्राथमिकता दिएको छ ।
कृष्णसारलाई विभिन्न पौष्टिक तत्त्व खुवाएर र चरन क्षेत्रको व्यवस्थापनमा निकुञ्जले सुधार ल्याएको वन्यजन्तु प्राविधिक देवराज जोशीले बताउनु भएको छ ।
आउँदो दिनहरूमा पनि कृष्णसारको संरक्षण र सङ्ख्या वृद्धिमा यस्तै गरी निकुञ्जले सफलता हात पार्न सके शुक्लाफाटा राष्ट्रिय निकुञ्जको पर्यटन क्षेत्रमा पनि उल्लेखनीय वृद्धि हुने पर्यटन व्यवसायीहरुकोे भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्