चन्द्रनगर गाउँपालिकामा लगाएको ताला दश दिन पछि खुल्यो, कार्यालय यथास्थानमा रहने

चन्द्रनगर । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा लगाएको ताला दश दिन पछि खुलेको छ । आइतवार जिल्ला प्रशासन कार्यालय सर्लाहीमा बसेको बैठक बाट गाउँपालिकाको सबै कार्य सुचारु हुने गरी तालाबन्दी खोलिएको हो । प्रमुख जिल्ला अधिकारी हेमराज तामाङको उपस्थितिमा गाउँपालिकाको कार्यालय यथास्थानमा राख्नुपर्ने माग गर्दै धर्ना बसेका पक्ष र गाउँपालिका अध्यक्ष महेन्द्र महतो बिच सहमती पत्रमा हस्ताक्षर भएपछि बिरोद्ध तथा धर्ना स्थगित गरिएको हो ।
गाउँपालिका अध्यक्ष महतोको अनुसार आफुले बहुमत सदस्यको निर्णय अनुसार नै अगाडि बढेको र बहुमत सदस्यले पारित नभएपछि गाउँपालिका यथास्थानमा नै हुने बताउनुभयो । बहुमत सदस्यले पारित नहुदाँ गाउँपालिका यथास्थानमै भएको बुझीबुझी धर्नामा बस्नुको औचित्य नभएकोले बैठक बसी बन्द कार्यालय खुलाइएको अध्यक्ष महतोले बताउनुभयो । धर्नामा बसेको पक्षधरको उचित माग सम्बोधन भएर सहमति भइसकेकोले सोमवार बाट गाउँपालिकाको सम्पूर्ण कार्य सूचारु हुने अध्यक्ष महतोले बताउनुभयो ।
गएको फागुन २१ गते वडा नं. ७ मा रहेको गाउँपालिकाको कार्यालय वडा नं. २ स्थित सार्न खोजेको भन्दै वडा नं. ६ र ७ का स्थानीयहरुले गाउँपालिकामा ताला लगाएका थिए । प्रदर्शनकारीहरु गाउँपालिकाको भवन नाढि तालमै राख्नु पर्ने, नाढि तालमै गाउँपालिकाको भवन बनाई शाखाहरु छुट्टाछुट्टै राख्नुपर्ने, विकास निर्माण कार्य पारदर्शी हुनुपर्ने, सूचनाको हक सम्बन्धी प्रावधान कार्यान्वयन गर्नुपर्ने लगायतको माँग गर्दै धर्नामा बस्दै आएका थिए र आइतवार सहमती भएपछि ताला खोलिएको नेपाली काँग्रेसका अर्का नेता सत्यदेव सिंहले बताउनुभयो ।
यसैगरी गाउँपालिका सार्ने विषयमा स्थानीयहरु बिभाजित समेत बनेका थिए । एकथरी गाउँपालिका यथावत स्थानमा राख्नुपर्ने भन्दै गाउँपालिकामा तालाबन्दी गरेको थियो भने अर्का थरी गाउँपालिका सबैको मध्य भागमा पर्ने गरी कार्यालय राख्नुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए ।
फागुन २६ गते बुधवार वडा नं. १ र २ का स्थानीयहरुले गाउँपालिका सबैलाई पाएक पर्ने मध्य बिन्दुमा राख्नुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेका थिए । गाउँपालिका अध्यक्ष महेन्द्र महतोले सबैको बिच भागमा गाउँपालिका कार्यालय नराखेको भन्दै स्थानीयहरुले गाउँपालिका अध्यक्ष महतो विरुद्ध चर्को नाराबाजी गर्दै टायर बालेर समेत प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरुले नाराबाजी गर्दै गाउँपालिका अध्यक्ष महतोको निजि निवासमा समेत ढुङ्गामुढा गरी तोडफोड समेत गरेका थिए ।








प्रतिक्रिया राख्नुहोस्