तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा प्रथम अन्तर पालिका स्तरीय फुटसल प्रतियोगिता सुरु

फुटसल खेल्न तयारी अवस्था रहेको कर्मचारी टोली ।
जुम्ला । जुम्लामा प्रथम अन्तर पालिका स्तरीय समन्वयात्मक फुटसल प्रतियोगिता सुरु भएको छ ।
सङ्घीयता कार्यान्वयनको साढे तीन वर्ष पुरा भएको अवसरमा स्थानीय तहबीच एक आपसमा सहकारिता, सद्भाव, समन्वय, सहकार्य र सहअस्तित्व कायम गर्न जनप्रतिनिधि र कर्मचारीबीच फुटसल प्रतियोगिताको आयोजना गरिएको हो ।
प्रतियोगितामा जुम्लाका आठ स्थानीय तहका १४ वटा टिमको सहभागिता रहेको छ ।
जसमा ९ वटा कर्मचारीको टिम छ भने ५ वटा जनप्रतिनिधिको टिमले प्रतियोगितामा सहभागिता जनाएका छन् ।
गुठिचौर, कनकासुन्दरी र हिमा गाउँपालिकाका जनप्रतिनिधिको टिमले भने सहभागिता नजनाएको आयोजक कर्णाली फुटसल एण्ड स्पोर्टस् हव जुम्लाका सचिव प्रकाश शाहीले बताउनुभयो ।
आज पहिलो दिन चार खेल सम्पन्न भएका छन् । जसमा सुरुवातको खेलमा तातोपानी गाउँपालिकाको कर्मचारी टिमले १ गोलका विरुद्ध १० गोल गरेर कनकासुन्दरी गाउँपालिकाको कर्मचारी टिमलाई पहिलो चरणमै हराएको छ ।
पहिलो दिनसम्म चार वटा खेलमा सबैभन्दा बढी गोल गर्नेमा तातोपानीको कर्मचारी टिम रहेको रेफ्री भुवन खड्काले जानकारी दिनुभयो ।
जनप्रतिनिधि र कर्मचारीबीच पहिलो पटक भएको फुटसल प्रतियोगिताले जुम्लामा अन्तर पालिकाको सम्बन्ध मजबुत हुने आशा गरिएको छ ।
सिञ्जा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले स्वास्थ्यका लागि पनि खेल आवश्यक पक्ष भएकोले प्रतियोगितामा खुसीका साथ सहभागी हुने बताउनुभयो  ।
उहाँले खेलमा हार जीत हुने एक प्रक्रिया भएको भन्दै सहभागिता नै ठुलो कुरा हुने उल्लेख गर्नुभयो ।
सोमबार जनप्रतिनिधिहरू बीच फुटसल प्रतियोगिता हुने आयोजक टिमले जनाएको छ ।
अन्तर पालिका बीचका जनप्रतिनिधिहरू बीच फुटसल हुने प्रतियोगिता हुने कुराले जनप्रतिनिधि तथा कर्मचारीहरू उत्साहित भएका छन् ।
सङ्घीयता सफल कार्यान्वयनको उपलक्ष्यमा आयोजित फुटसल प्रतियोगिताले जुम्लाका जनप्रतिनिधि, कर्मचारी बीचको आपसी सम्बन्ध मजबुत सहअस्तित्व कायम रहेको सन्देश दिने आशामा जुम्ली जनप्रतिनिधि रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button