तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा पहिलो पटक भूकम्प प्रभावित विद्यालयको भवन प्रबलीकरण गरिदैं 

मकवानपुर । मकवानपुरमा भूकम्पबाट प्रभावित सामुदायिक विद्यालयको भवन प्रबलीकरणका लागि पहिलो पटक विद्यालयसँग सम्झौता भएको छ ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको उपस्थितिमा प्रबलीकरण तालिम सञ्चालन तथा विद्यालय भवन प्रबलीकरणका लागि सम्झौता भएको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण (शिक्षा)÷जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) र हेटौँडा–१७ स्थित बालवोध माविबीच दुई वटा ब्लकको प्रबलीकरणका लागि सम्झौता गरिएको हो ।
जिल्लामा पहिलो पटक विद्यालय भवन प्रबलीकरण तालिमसँगै उक्त विद्यालयको प्रबलीकरण गर्ने सम्झौता भएको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) प्रमुख बद्री बहादुर पाठकले जानकारी दिनुभयो ।
२०७२ सालको भूकम्पबाट प्रभावित १४ जिल्लामा क्षतिग्रस्त सामुदायिक विद्यालयहरूमा प्रबलीकरण गर्नुपर्ने विद्यालयको प्रबलीकरण गर्न र उक्त कार्यका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम सञ्चालन गर्न लागिएको हो ।
प्रमुख पाठकका अनुसार जिल्लाका १० वटै पालिकाबाट छनौट भएका कुल १सय २० जना डकर्मीलाई प्रबलीकरण सम्बन्धी ५० दिने आवासीय तालिम प्रदान गर्नुका साथै सो अवधिमा उक्त विद्यालयको दुई  ब्लकको प्रबलीकरण गरिने छ ।
जिल्लामा प्रबलीकरणका लागि सिफारिस भएका विद्यालय मध्ये बाल बोध मावि छनौटमा परी सम्झौता गरिएको हो ।
उक्त विद्यालयको प्रबलीकरण तथा प्रबलीकरण तालिम सञ्चालनका लागि कुल १ करोड ९१ लाख १३ हजार २ सय ८५ रुपैयाँ लागत अनुमान गरिएको छ ।
जिसस प्रमुख खुलालको उपस्थितिमा भएको सम्झौता पत्रमा जिल्ला आयोजना कार्यान्वयन इकाईका तर्फबाट इकाई प्रमुख पाठक र विद्यालयका तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल बहादुर विष्टले हस्ताक्षर गर्नुभएको थियो ।
कार्यक्रममा १७ नम्बर वडा अध्यक्ष भैरव बहादुर राई, विद्यालयका प्रधानाध्यापक रमेश रिजाल, इकाईका इन्जिनियर अमर श्रेष्ठ, परामर्शदाता कम्पनीका इन्जिनियर सुदिप खड्कालगायतको सहभागिता थियो ।
सो अवसरमा प्रमुख खुलालले सम्झौता बमोजिम कार्य सम्पन्न गर्न आग्रह गर्नुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button