सप्तरीको राजविराजमा लिटिल आइकनको अडिसन

सप्तरी । सप्तरीको राजविराजमा बालबालिकाहरूको क्षमता विकास र अभिवृद्धिका लागि हुन लागेको पहिलो लिटिल आइकनको अडिशन भएको छ ।
राजविराज जेसीजको आयोजनामा हुन लागेको राजविराज लिटिल आइकन २०२१ प्रतियोगिताका लागि अडिसनमा सहभागीमध्ये २० जना बालबालिका छनौट भएको राजविराज जेसीजले जनाएको छ ।
अडिसनबाट छानिएका प्रतिस्पर्धीहरूलाई आधिकारिक कोरियोग्राफर रजनी केसीलगायत विभिन्न क्षेत्रका विज्ञहरूले एक महिनासम्म व्यक्तित्व विकास, सामाजिक रहन सहन, नैतिक जिम्मेवारी बारेमा प्रशिक्षित गरेपछि उनीहरुबीच प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ ।
लिटिल आइकनका परिकल्पनाकार एवम् निर्देशक भुवन राउतका अनुसार प्रतिस्पर्धीहरूलाई सामाजिक उत्तरदायित्व, जीवनशैली, कला संस्कृति, बोलीचाली, मानवअधिकार, ट्राफिक नियम, क्याटवाकका विषयमा समेत विशेषज्ञहरूबाट प्रशिक्षित गराइने छ ।
प्रतियोगिताका बालक र बालिकातर्फ विजेताहरूलाई ताजसहित क्राउन, प्रमाण–पत्रलगायत नगद पुरस्कारसहित राजविराज लिटिल आइकन घोषणा गरिने छ ।
राजविराज जेसीज भवनमा पहिलो अडिसन सम्पन्न भएको र दोस्रो अडिशन आउने शनिबार हुने राजविराज जेसीजका अध्यक्ष सिद्धार्थ तातेडले बताउनुभयो ।
अडिसनमा अधिकारकर्मी एवम् पत्रकार मनोहर पोखरेल, राजविराज जेसीजका अध्यक्ष तातेड, कोरियोग्राफर ज्योति सङ्ग्रौला र सहायक कोरियोग्राफर निकिता पौडेलले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।
राजविराज लिटिल आइकनको ग्राण्ड फाइनल राजविराजमा आगामी चैत ३१ गते गरिने राजविराज जेसीजले जनाएको छ । राजविराज लिटील आइकन २०२० कोभिड–१९ का कारण रोकिएको थियो ।
प्रतियोगिताको सह आयोजकमा युवा सचेतना अभियान तथा सुखी समाज, समृद्ध नेपाल रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्