सुदूरपश्चिम प्रदेशका डोट्याली समुदायको चैतलो भेटौलो पर्व सुरु
कञ्चनपुर । चैत्र महिना सुरु भएसँगै सुदूरपश्चिम प्रदेशका डोट्याली समुदायको चैतलो भेटौलो पर्व पनि सुरु भएको छ ।
सुदूरपश्चिम प्रदेशका प्रायः सबै पहाडी जिल्लाहरूमा बसोबास गर्ने र त्यहाँबाट अन्यत्र बसाइसराई गरी गएका डोट्याली समुदाय तथा भारतको कुमाउँ गडवालमा समेत चैत्र महिनाभर चैतलो भेटौलो पर्व मनाउने गरिएको छ ।
विशेषतः भाइबहिनीको प्रेम तथा सद्भावको पर्वका रुपमा रहेको चैतलो भेटौलो पर्वमा विवाह भइसकेकी चेलीबेटी र दिदीबहिनीलाई माइती पक्षको तर्फबाट बुवा आमा र दाजुभाइले कुनै न कुनै कोसेली लगेर भेट्न जाने परम्परा रहेको छ । घरमा बुवा आमा तथा दाजुभाइ नभएमा माइती पक्षका नजिकका नातेदारहरुले समेत भेट्ने परम्परा रहेको छ ।
केही दशक पहिलेसम्म सञ्चार र यातायातका साधनहरूको अभाव, भौगोलिक विकटता र खेतीपाती तथा कामधन्दामा निक्कै व्यस्तता हुँदा चैत्र महिनामा एक दुई दिन समय निकालेर भए पनि चेलीबेटी र दिदीबहिनीहरूलाई भेट्न जानुपर्छ भन्ने मान्यताबाट विकसित यो परम्परालाई डोट्याली समुदायले अझै पनि निरन्तरता दिएको पाइन्छ ।
चेलीबेटी र दिदीबहिनीहरू समेत माइती पक्ष भेट्न आउने विश्वासका साथ बाटो हेरी प्रतीक्षामा रहेका हुन्छन् । केही वर्ष पहिलेसम्म अन्न, पकवान, नरिवल, मिश्री, फलफूल र क्षमता अनुसार लुगा कपडा तथा गरगहना समेत दिने चलन थियो ।
पछिल्लो समयमा भने बजारमा पाइने मिठाई लगायतका अन्य कोसेली दिने चलन रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्