स्रोत नखुलेको १९ लाख ५१ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ
वीरगञ्ज । भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा स्रोत नखुलेको १९ लाख ५१ हजार नगद रुपैयाँसहित वीरगन्जबाट सशस्त्र प्रहरीले आज साँझ एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण जिल्ला रक्सौल नगरपालिका वडा नम्बर २१ निवासी ३६ वर्षीय राजेशकुमार साह रहेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल बीओपी वीरगञ्ज भन्सारबाट खटिएको गस्ती टोलीले भारतकको सीमावर्ती शहर रक्सौलबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ शङ्कराचार्य गेटनजिकको सडक खण्डबाट चेक जाँचको क्रममा स्रोत नखुलेको १९ लाख ५१ हजार १ सय २० नेपाली रुपैयाँसहित साहलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले बताउनुभयो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका साहलाई सशस्त्र प्रहरीले शङ्का लागि जाँच गर्दा उनले शरीरमा बाँधेर लुकाई छिपाइ ल्याउँदै गरेको रकम फेला परेपछि पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक खड्काले बताउनुभयो ।
पक्राउ परेको रकमसहित अभियुक्तलाई थप कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइने खडकाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्