हावाहुरीबाट गहुँ र तरकारी बालीमा ठूलो क्षति
वीरगञ्ज । बारा पर्सामा गए राति आएको हावाहुरीसहितको पानीले गहुँबाली तथा तरकारी खेतीमा ठूलो क्षति पुर्याएको छ ।
हावाहुरीसहितको आएको पानीले पसाएको गहुँबाली कामै नलाग्ने गरी ढलेपछि किसानहरू चिन्तित भएका छन् । पर्सा बहुदरमाई नगरपालिकाका किसान धूपलाल साहले गहुँ बालीमा हावाहुरीले ठूलो क्षति पुर्याएको र पसाएको गहुँको बोट ढलेको कारण त्यसमा दाना लाग्न समस्या हुने बताउनुभयो ।
गहुँको बोट हावाहुरीले भाँचिएपछि अब सुकेर नष्ट हुने चिन्ता लागेको किसान साहले बताउनुभयो ।
यसैगरी हावाहुरीले बारा, पर्सामा दलहन बालीलाई समेत नोक्सानी पुर्याएको छ । हावाहुरीसहितको पानीले फुलिरहेका फुल झरेको किसानहरूले बताएका छन् ।
बाराको कुल खेतीयोग्य जग्गा ६९ हजार ९ सय ६३ मध्ये यस बर्ष ११ हजार ६ सय ५३ हेक्टर क्षेत्रफलमा दलहन खेती गरिएको कृषि ज्ञान केन्द्रका प्राविधिक गेनालाल मण्डलले बताउनुभयो ।
त्यसैगरी, हावाहुरीले तरकारी तथा फलफूल खेतीमा समेत क्षति पुर्याएको किसानहरूले बताएका छन् ।








प्रतिक्रिया राख्नुहोस्