कच्चापदार्थ अभावले जुम्लाको राडी पाखी उद्योग बन्द

जुम्ला । कच्चा पदार्थको अभावले जुम्लाको एक मात्र राडी पाखी उद्योग बन्द भएको छ ।
छिमेकी राष्ट्र चीनको उत्तरी नाका महिनौँदेखि बन्द हुँदा कच्चा पदार्थ (उन) नआएपछि जुम्लाको एक मात्र तामाङ झोला तथा राडी पाखी उद्योगको काम बन्द भएको हो ।
उद्योग सञ्चालक कुन्जाङ पुटिक तामाङले चिनिया भेडाको उनबाट बन्ने कोट, टोपी राडी पाखीको माग धेरै भएको र कोभिडपछि कच्चा पदार्थ नभएकोले उद्योग उत्पादन ठप्प भएको बताउनुभयो ।
उहाँले भन्नुभयो,“जुम्ली भेडाको कालो र सेतो (उन)बाट बन्ने विभिन्न सामाग्रीको पनि माग बढ्दो छ । तर जुम्ली भेडाको उन छोटो हुने भएकाले अलि झन्झटिलो हुने र चीनबाट आउने उन लामो र मुलायम हुने भएकोले सामाग्री सजिलै उत्पादन हुने हुँदा अहिले कच्चा पदार्थ नआउँदा समस्या भएको छ।”
माग बढिरहेको र कच्चा पदार्थ नहुँदा काम रोकिएकोले घाटा व्यवहोर्नु परेको समेत तामाङले उल्लेख गर्नुभयो ।
चीनको उत्तरी नाका हिल्सा नाका खुलाउन सरकारले पहल नगर्दा कर्णालीको जन जीवनसँगै साना तथा मझौला उद्योग सङ्कटमा परेको उहाँको गुनासो छ ।
सरकारले चीनको नाका खुलाउन कुनै चासो देखाएको छैन । हाम्रो कुनै पहुँच पुग्दैन । कहिले कच्चा पदार्थ ल्याउने र उद्योग सञ्चालन गर्ने भन्नेबारे अन्योल रहेको छ । जुम्ली र चिनिया भेडाको उनबाट मात्रै बन्ने (कोट, कोट बनाउने पाखी, टोपी, गलबन्दी, ल्युउ हाते झोला) लगायतका सामाग्री कच्चा पदार्थ अभावले उत्पादन रोकिएको उहाँको भनाइ छ ।
पछिल्लो समय जुम्लामा पनि भेडाको उन लोपोन्मुख भइरहेको छ । गाउँमा परम्परागत तरिकाले राडी पाखी बुन्ने धेरै भएकोले पनि उद्योगका लागि उन पाउन मुस्किल भएको तामाङको भनाई छ ।
चीनको नाका खुलाएर चाँडो कच्चा पर्दाथ ल्याउने वातावरण बनाइदिन समेत उद्योग सञ्चालक तामाङले माग गर्नुभयो । वर्षमा राडी पाखी बेचेरै ५ लाखभन्दा बढी आम्दानी गर्दै आउनु भएकी उद्यमी तामाङले अहिले कच्चा पदार्थ अभावले उद्योग बन्द हुँदा आम्दानी गुमेको बताउनुभयो ।
उहाँले वर्षमा कच्चा पदार्थ खरिद, कामदारलाई ज्याला, सामान निर्यात गरी १५/२० लाखको कारोबार हुने भए पनि आफूलाई खुद आम्दानी ५ लाख हुने गरेको बताउनुभयो ।

२०६४ सालदेखि १० हजारबाट व्यवसायीक राडी पाखी व्यापारमा होमिनुभएकी तामाङ अहिले वार्षिक ५ लाख कमाउने अवस्थामा पुगेपछि निकै खुसी हुनुहुन्छ ।
नियमित ५ जना र ज्यालादारीमा १०/१२ जनालाई रोजगारी दिएको समेत उहाँको भनाई छ ।
ज्यालादारीमा काम गर्ने महिलालाई एक कोट सिलाए बापत २ हजार र राडी पाखी बुने बापत २ हजार ५ सय दिइरहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्