तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा धूमधामका साथ मनाईदैँ महाशिवरात्रि पर्व

सप्तरी  । सप्तरी जिल्लामा पनि फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवको पूजा आराधना गरी मनाइँदै छ ।
हिन्दुहरूको महान् पर्व महाशिवरात्रिका अवसरमा सप्तरी जिल्लाको विभिन्न शिवलायहरुमा आज बिहानैदेखि हिन्द धर्मावलम्बी भक्तजनहरूको उल्लेख्य मात्रामा भिड लागेको छ ।
जिल्लाको कञ्चनपुर नगरपालिका १२ धरमपुरस्थित ऐतिहासिक एवम् पुरातात्त्विक महत्त्वको धर्मेश्वर महादेव मन्दिरमा बिहानैदेखि पूजापाठ गर्ने भक्तजनहरूको भिड लागेको छ ।
बिहान ४ बजेदेखि फूल माला , बेलपत्र, धतुरो, मिष्टान्न तथा विभिन्न किसिमका फलफूल सहित रङ्गीचङ्गी भेष भूषामा सजिएर महिला, पुरुष ,बृद्धबृद्धा र बालबालिकाहरू धर्मेश्वर महादेव मन्दिरमा दर्शनका लागि लामबद्ध भएर बसेका थिए ।
बिहानदेखि बेलुकासम्म मन्दिरमा भक्तजनहरू पूजा गर्न आउने र यस धर्मेश्वर महादेव मन्दिरमा भक्तजनहरू आई जे वर माग्यो त्यही पुग्ने र सन्तान नभएकाहरूको सन्तान प्राप्ति हुनाले महत्त्व बढेर गएको धर्मेश्वर महादेव पर्यटन क्षेत्रका अध्यक्ष लिलबहादुर मगरले बताउनुभयो ।
आज ३ हजारभन्दा बढी भक्तजनहरूले मन्दिरमा आई पूजाआजा गरेको मगरले बताउनुभयो ।
आजको दिन रुद्रिपाठ गर्ने , लाख बत्ती बाल्ने र भव्यरुपमा मेला समेत लाग्ने गरेको पाइन्छ ।
त्यसै गरी जिल्लाकै शम्भुनाथ नगरपालिका स्थित रहेको शम्भुनाथ महादेव मन्दिरमा बिहानैदेखि भक्तजनहरूले पूजाआजा गरेका छन् ।
विभिन्न ध्वजापताकाले सिँगारिएको सो मन्दिरमा दर्शनका लागि सप्तरी, सिराहा तथा भारतको विहार राज्यको सुपौल र मधुवनी जिल्लालगायत सहरी तथा ग्रामीण क्षेत्रका धर्मालम्वीहरु बिहानैदेखि दर्शनका लागि सहभागी भएका छन् ।
त्यस्तै सप्तकोशी नगरपालिका फत्तेपुरस्थित शिवालय, कञ्चनपुर –६ बलुवास्थित रहेको भजनेश्वर महादेव मन्दिर, कञ्चनपुर –८ स्थित रहेको शिवालय मन्दिर , कञ्चनपुर–१२ रुपनगर स्थित रहेको त्रिमार्ग शिवालय मन्दिर, राजविराज १ मा रहेको शिवालय मन्दिर, महादेवा गाउँपालिका स्थित शिवालय मन्दिर, हनुमाननगर कंकालिनी २ मा रहेको महादेव मन्दिर, पातोको डाकनेश्वरी मन्दिर, वभनगामाकट्टिको महादेव मन्दिरमा समेत बिहानैदेखि पूजापाठ गर्ने भक्तजनहरूको उल्लेख्य मात्रामा घुइँचो लागेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button