तपाईँ सुन्दै हुनुहुन्छः

‘झापा स्पोर्टस् अवार्ड २०७६’को तयारी पूरा, सात विधाका आठ खेलाडी सम्मानित हुने

झापा । चौथो संस्करणको ‘झापा स्पोर्टस् अवार्ड २०७६’ को तयारी पूरा भएको छ । अवार्ड यही फाल्गुन २८ गते साँझ ठिक ५ बजे बिर्तामोड सिटी सेन्टरस्थित साई पार्टी प्यालेसमा हुनेछ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले आयोजना गर्दै आएको ‘झापा स्पोर्टस् अवार्ड’को चौथो संस्करणमा सात विधाका आठ जना खेल प्रतिभालाई नगदसहित सम्मान गरिने अध्यक्ष हिमाल खरेलले जानकारी दिनुभयो ।

मञ्चले यसअघि पत्रकार सम्मेलन गरेर विभिन्न चार विधाका मनोनीतहरू सार्वजनिक गरिसकेको छ । प्रत्येक विधामा तीन तीन जना प्रतिभा छनोट गरिएको प्रतिभा छनोट समितिका संयोजक सचित आनन्द सुब्बाले बताउनुभयो ।

मनोनीत मध्ये एक जनाले कार्यक्रमको दिन नगदसहित ट्रफी प्राप्त गर्नेछन् । यसपालिको अवार्ड कार्यक्रमका मनोनीतहरूमा वर्ष उत्कृष्ट खेलाडी (पुरुष)मा अनन्त तामाङ (फुटबल), सेसेहाङ आङदेम्बे (फुटबल) र छिरिङ गुरुङ (फुटबल) छन् । तामाङ र आङदेम्बे झापा र गुरुङ इलामका हुन् ।

त्यस्तै, वर्ष उत्कृष्ट खेलाडी (महिला)मा जुनी राई (उसु), देविका खड्का(जुडो) र कमला श्रेष्ठ (फेन्सिङ) रहेका छन् । राई इलाम तथा खड्का र श्रेष्ठ झापाका हुन् ।

वर्ष उत्कृष्ट खेलाडी (युवा)मा रेजिन सुब्बा (फुटबल), मनिता श्रेष्ठ प्रधान (जुडो) र अनुजा कुलुङ राई (कबड्डी) छन् । सुब्बा र राई झापा र प्रधान पाँचथरकी हुन् । वर्ष उत्कृष्ट प्रशिक्षकमा प्रवेश कटवाल (फुटबल), मदन उप्रेती (कराते), वोङदेन लामा (पौडी) रहेका छन् । कटवाल र उप्रेती झापा तथा लामा इलामका हुन् ।

वर्ष खेलाडी (पुरुष) लाई एक थान मोटरसाइकल, वर्ष खेलाडी (महिला) लाई एक थान स्कुटर, वर्ष खेलाडी (युवा) लाई नगद २५ हजार, वर्ष उत्कृष्ट प्रशिक्षकलाई नगद २५ हजार र ट्रफी प्रदान गरिने मञ्चका सचिव अर्जुन राजवंशीले जानकारी दिए ।

त्यस्तै, पिपुल्स च्वाइजअन्तर्गत एक खेलाडीलाई नगद २५ हजार र लाइफ टाइम्स अचिभमेन्ट अवार्डस्वरुप एक जनालाई नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button