तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीमा हाम फालेका ४ जनाको सामूहिक दाहसंस्कार

अछाम । कर्णाली नदीमा हाम फालेर ज्यान गुमाएका आमा र तीन सन्तानको सामूहिक दाहसंस्कार गरिएको छ । बुधवार राती आठबिस नगरपालिका ३ साइखोलमा मोरा कर्णाली नदीको किनारमा उनीहरूको दाहसंस्कार गरिएको हो ।
अछामको पञ्चदेव विनायक नगरपालिका वडा नम्बर ४ बेलखेतमा शव प्राप्त भएका दैलेख आठबीस नगरपालिका वडा नम्बर ३ निमायलकी ३८ वर्षीया सुकी बडुवाल, उहाँकी छोरी १४ वर्षीया कल्पना बडुवाल, १२ वर्षीया सरिता बडुवाल, ८ वर्षीया छोरा ललित बडुवालको बुधवार जिल्ला अस्पताल अछाममा पोष्टमार्टम पछि राती कर्णाली नदी किनारमा सामूहिक अन्त्येष्टि गरिएको स्थानीय जनक बहादुर भण्डारीले जानकारी दिनुभयो ।
आमा सुकीको शव जलाइएको छ भने २ छोरी र १ छोराको शव गाडिएको छ । बालबालिकाको शव नजलाउने परम्पराअनुसार गाडिएको भण्डारीको भनाई छ ।
आठबिस नगरपालिका वडा नम्बर ३ दैलेखकी सुकीले आफ्ना चार छोराछोरीसहित आइतबार कर्णाली नदीमा हाम फालेकी थिइन् । ४ जनाको शव प्राप्त भए पनि ५ बर्षीया छोरी रजनी भने बेपत्ता छिन् ।
श्रीमतीसहित सामान्य झगडा हुने गरे पनि सन्तानसहित आत्महत्या हुने किसिमले झगडा नहुने गरेको सुकीका श्रीमान् मानसिंहले बताउनु भएको छ । प्रहरीले घरेलु हिंसाको कारण सुकीले छोराछोरीसहित आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ ।
बुधवार साँझ दाहसंस्कार स्थलमा स्थानीयको ठुलो भीड लागेको थियो । घटनाबाट छरछिमेक र सिङ्गो गाउँ स्तब्ध भएको स्थानीय हरिश बहादुर शाहीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button