आगलागीका कारण वन सम्पदा र वन्यजन्तु सङ्कटमा
वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज एवं बारा, पर्सा, मकवानपुर, चितवनको राष्ट्रिय वन क्षेत्रमा केही दिन यता डढेलो लाग्न सुरु भएको छ ।
डढेलोका कारण करोडौँको महत्त्वपूर्ण वन सम्पदा तथा दुर्लभ वन्यजन्तु सङ्कटमा परेका छन् । पर्सा राष्ट्रिय निकुञ्जको भावर क्षेत्रमा सुख्खा मौसम शुरु भएसँगै डढेलो शुरु भएको राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज साहले बताउनुभयो ।
हाल निकुञ्जको दक्षिणी भावर क्षेत्रमा बढी डढेलो लागेको छ । पानी नपरेकाले डढेलो छिटो फैलन थालेको हो । गत बर्ष एक दिनमा ६ सयभन्दा बढी स्थानमा डढेलो लागेको थियो । निकुञ्जमा प्रवेश गर्ने गोठालाले चुरोटको ठुटा र सलाई कोरेर फाल्दा आगो लाग्ने गरेको छ ।
डढेलो रोक्न पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनले निकुञ्जको विभिन्न क्षेत्रमा फायर लाइन बनाएको छ । एक भागबाट अर्को भागमा आगो फैलिन नदिन निकुञ्ज क्षेत्रमा २ सय किलोमिटर भन्दा बढी फायर लाइन निर्माण गरिएको साहले बताउनुभयो ।
हाल पर्सा राष्ट्रिय निकुञ्जको अमलेखगन्ज क्षेत्रको डढेलो अनियन्त्रित रहेको र त्यसलाई निगरानीमा राखेर नियन्त्रणको प्रयास भइरहेको बताउँदै प्रमुख संरक्षक अधिकृत साहले तामागढी, चुरिया माई, सुवर्णपुर तर्फ निकुञ्जमा लागेको डढेलो नियन्त्रणमा आइसकेको बताउनुभयो ।
डढेलो नियन्त्रणका लागि हाल राष्ट्रिय निकुञ्जसँग सरोकार राख्ने ४२ वटा उपभोक्ता समिति मार्फत सूचना प्रवाह र समन्वय गरी नियन्त्रणको प्रयास भइरहेको साहले बताउनुभयो ।
यसैगरी चितवन राष्ट्रिय निकुञ्जमा स–साना डढेलोका घटना भए पनि ठूलो रुपमा नफैलिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो ।
अहिले चितवन राष्ट्रिय निकुञ्जमा ३ सय किलोमिटर भन्दा बढी फायर लाइन अर्थात् ‘अग्नि रेखा’ मर्मत तथा सरसफाइको काम भई रहेको बताउँदै डढेलो फैलिन नदिन राष्ट्रिय निकुञ्जको कन्ट्रोल फायर टिम तयारी अवस्थामा रहेको बरालले बताउनुभयो ।
चितवन राष्ट्रिय निकुञ्जसँग आबद्ध ७१ वटा सामुदायिक वन र २२ वटा मध्यवर्ती उपभोक्ता समितिसँग आगलागी नियन्त्रणका लागि आवश्यक समन्वय भइरहेको समेत प्रमुख संरक्षक अधिकृत बरालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्