तपाईँ सुन्दै हुनुहुन्छः

राडी पाखी बेचेरै वार्षिक ५ लाख आम्दानी

जुम्ला । चन्दननाथ नगरपालिका २ निवासी सफल महिला उद्यमी कुन्जाङ पुटिक तामाङले लोपोन्मुख राडी पाखी बेचेरै वार्षिक ५ लाख खुद आम्दानी गर्दै आउनुभएको छ ।

जुम्लाकै पहिलो तामाङ झोला तथा राडी पाखी उद्योगबाट उत्पादन तथा बिक्री गरेर जनजाति महिला तामाङले वार्षिक ५ लाख कमाउँदै आउनुभएको हो ।

२०६४ सालदेखि १० हजारबाट व्यवसायीक राडी पाखी व्यापारमा होमिएकी तामाङ अहिले वार्षिक ५ लाख कमाउने अवस्थामा पुगेपछि निकै खुसी हुनुहुन्छ ।

एक वर्षमा वर्षमा कच्चा पदार्थ खरिद, कामदारलाई ज्याला, सामान निर्यात गरी १५–२० लाखको कारोबार हुने भए पनि आफुलाई खुद आम्दानी ५ लाख हुने गरेको तामाङले बताउनुभयो ।

सरकारी अनुदानको नाममा आव २०७५–७६ मा पशु सेवा कार्यालयबाट साँढे ३ लाख मात्रै राहत पाएकी उनले अहिले सम्म कतैबाट कुनै पनि सहयोग पाउनुभएको छैन । महिनामा ४० देखि ४५ हजारसम्म खुद नाफा हुने र त्यसैबाट छोराछोरीको पढाइदेखि घर खर्च चलिरहेको तामाङ उल्लेख गर्नुभयो ।

कोभिडपछि चीनको नाका बन्द हुँदा कच्चा पर्दा नआएपछि अहिले कुन्जाङ झोला तथा राडी पाखी उद्योगको काम रोकिएको छ । चिनिया भेडाको उनबाट बनेको कोट, गलबन्दी, टोपी, स्वेटर, झोला तथा राडी पाखी र लिउको माग बढ्दै गए पनि कच्चा पर्दा अभावले उत्पादन रोकिएको छ ।

नियमित ५ जना र ज्यालादारीमा १०–१२ जनालाई रोजगारी दिइएको उहाँ बताउनुहुन्छ । ज्यालादारीमा काम गर्ने महिलालाई कोट सिलाए बापत २ हजार र राडी पाखी बुने बापत २ हजार ५ सय दिने गरेको जानकारी उहाँले दिनुभयो ।

जिल्लामा अदालतका न्यायाधीश, नेपाली सेनाका प्रमुख, अन्य कार्यालयका प्रमुख, तथा नेताहरूबाट सामानको माग हुने गरेको छ । जुम्लाबाट काठमाडौँ लाजिम्पाट स्थित व्यापारी रवि थापाको समन्वयमा राडी, पाखी पठाउने गरिएको तामाङले जानकारी दिनुभयो ।

उहाँले आफू सफल उद्यमी बनेपछि जनजातिका महिलाहरूलाई समेत गाउँ गाउँमा गएर सीप हस्तान्तरण गरिरहनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button