कर्णालीमा बेपत्ता एकैघरका पाँचमध्ये ४ जनाको शव प्राप्त
अछाम । कर्णाली नदीमा बेपत्ता भएका दैलेख जिल्लाका एकै घरका ५ जनामध्ये ४ जनाको शव अछामको क्षेत्रमा भेटिएको छ । एक जनाको शव अझै नभेटिएको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
दैलेख आठबीस नगरपालिका–३ निमायलकी ३५ वर्षीया सुकी बडुवाल र उहाँका छोरा १० वर्षीया ललितको शव मङ्गलवार दिउसो १२ बजेतिर अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ बेलखेतमा भेटिएको छ भने १६ र १२ वर्षीया छोरी कल्पना र सरिता बडूवालको शव सोमबार नै सोही ठाउँमा फेला परेको अछामका प्रहरी प्रमुख डिएसपी तुलसीराम अर्यालले बताउनुभयो ।
भेटिएका शवको जिल्ला अस्पताल अछाममा पोस्टमार्टम गरिने भएको छ । शव अछामको क्षेत्रमा प्राप्त भएकाले पोस्टमार्टम अछाममा गरिने अछामका प्रहरी प्रमुख डिएसपी अर्यालले बताउनुभयो । शव जिल्ला अस्पताल ल्याइएको र पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइने उहाँले बताउनुभयो ।
तीन छोरी र एक छोरासहित सोमबारदेखि कर्णालीमा बेपत्ता भएकी सुकीकी ५ वर्षीया छोरी रजनी बडूवालको खोजी कार्य भइरहेको उहाँले बताउनुभयो । घटनास्थलमा अछामका ७ जनासहित दैलेखका प्रहरी र गोताखोरको टोली खटिएको छ ।
स्थानीयका अनुसार सोमबार दिउँसो ४ बजेको समयमा सुकी छोराछोरीसहित घरबाट निस्किएकी थिइन् । तर साँझ अबेरसम्म घर नआएपछि खोजी गर्दा सोमबार नै दुई छोरीको कर्णालीमा शव फेला परेको थियो ।
मृतक सुकीका श्रीमान् मानसिंह बडूवाललाई दैलेख प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक राजेश साहुले जानकारी दिनुभयो । दैनिक जसो मदिरा सेवन गरेर श्रीमती र छोराछोरीसँग झगडा गर्ने गरेको सूचना पाएपछि उहाँलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको शुरु गरिएको प्रहरीले जनाएको छ ।
संचाइएको : यसअघिको समाचारमा डिएसपी तुलसीराम अर्याल हुनुपर्नेमा अन्यथा भएकाले सच्चाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्