मुहान सुकेपछि डेढ घण्टा हिँडेर पानी ओसार्नुपर्ने

सल्यान । जिल्लाको कालीमाटी गाउँपालिका–२ अन्तर्गत पर्ने कोछट्टे, टोटके र बारपुरका स्थानीयले पानीका लागि वषौंदेखि सास्ती भोगिरहेका छन् । नजिकैका खानेपानी मुहान सुकेपछि स्थानीयलाई डेढ घण्टा हिँडेर खानेपानी ओसार्नुपर्ने बाध्यता छ ।
पानीको सङ्कट बढेपछि अड्कलेर पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्थानीय दिलमाया सुनारले बताइन् । उनले भनिन ‘पानीको अभाव झेल्दै पुस्तौँ बिताइयो, हाम्रा दुःख कहिल्यै हटेनन् । नजिकका खानेपानी मुहान सुकेका र सरकारले गाउँभन्दा टाढाका मुहानबाट पानी ल्याउन योजना सञ्चालन नगर्दा समस्या भइरहेको उनको भनाई छ ।
हिउँदको समयमा पानीको सङ्कट सधैँ हुने गरेको स्थानीय कमल सुनारले बताए । ‘वर्षातको समयमा आकाशे पानी सङ्कलन गरी उपभोग गछौं’ उनले भने, ‘हिउँद लागे दैनिक एक गाग्री पानीकै चिन्ता हुन्छ ।’ खानेपानी अभावका कारण गाउँमा रहेका शौचालय लामो समयदेखि प्रयोगविहीन बनेका उनले जानकारी दिए ।
गाउँभन्दा माथिको मुहान सुकेका छन् । यसले गर्दा गाउँभन्दा तलका मुहानबाट पानी ओसार्नुपर्ने बाध्यता छ । पानीकै लागि महिला र बालबालिकाले लामो समयदेखि विभिन्न सास्ती झेल्दै आएको स्थानीय मनमाया सुनारले बताइन । ‘बिहान सबेरै खोला नझरी सुख्खै छैन,‘खोलाको धमिलो पानी प्रयोगले बेला–बेलामा विभिन्न स्वास्थ्य समस्या देखिने गरेका छन् ।
पानी ओसार्ने कामले घरायसी कामकाज प्रभावित भइरहेको उनले बताइन । स्थानीयलाई भाँडा र कपडा धुन पनि पोखरीमै झर्नुपर्ने बाध्यता रहेको छ । वर्षातको समयमा बस्तीदेखि तलको भक्काने र भित्तामा पानीको मूल रसाउँछ । कात्तिकमा मूल सुकेपछि खोला झर्नुको विकल्प छैन । कोछट्टेका स्थानीय लालबहादुर ओलीले पानीकै कारण बालबालिकाको पढाई छुट्ने गरेको बताए । दैनिक जसो पानी ओसार्दा अधिकांश महिला ढाडका रोगी बनेका उनको भनाइ छ । उनका अनुसार महिला र बालबालिकाको साँझ–बिहानको कामै पानी ओसार्ने हुन थालेको छ ।
स्थानीय डिलबहादुर ओलीले कहिल्यै पनि शुद्ध पानी पिउन नपाइने गरेको बताए । उनले पानीको समस्याकै कारण शौच गर्न खोलामा झर्नुपर्ने बाध्यता रहेको सुनाए ।
भौगोलिक विकटताका कारण गाउँमा खानेपानी योजना सञ्चालन गर्न समस्या भएको वडाध्यक्ष इन्द्रबहादुर ओली भनाइ छ । ‘मुहान तल छ, गाउँ माथि, सबै बस्तीमा पानी पु¥याउने गरी योजना सञ्चालन गर्न स्थानीय सरकारसँग बजेट छैन, माथिल्ला सरकारले सुन्दैनन् ।’








प्रतिक्रिया राख्नुहोस्