भाषण गर्न सक्ने छोरीहरूलाई सम्मान

बझाङ । जयपृथ्वी नगरपालिकाले सभा समारोहमा गएर भाषण गर्न सक्ने स्कुले छोरीहरूलाई सम्मान गरेको छ । सदरमुकाम चैनपुरमा सोमवार आयोजना गरेको १११औ अन्तर्राष्ट्रिय नारी दिवस समारोहमा भाषण गर्न इच्छुक भएका स्कुले छोरीहरु लाई समारोहमा भाषण गर्न लगाए पछि उनीहरूलाई सम्मान गरेको हो ।
नारी दिवसको अवसरमा महिलाहरूको बजारमा र्याली पछि खुला मञ्चमा आमसभा गरिएको थियो । आमसभामा यसपालि अन्य अतिथि भन्दा छोरीहरूलाई नै मन्तव्य दिन लगाइएको थियो । नगरपालिकाले केही दिन अगाडि नै महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्धि नेपालको आधार भन्ने शीर्षक दिएर इच्छुक छोरीहरूलाई मन्तव्य दिन आउन सूचना प्रसारण गरेको थियो । यसपालि प्रतियोगिता नभएर छोरीहरूको क्षमता र नेतृत्व विकास होस भन्ने उद्देश्यले यस्तो कार्यक्रम राखेको महिला शाखाकी कर्मचारी टिटा धामीले जानकारी दिनुभयो ।
भाषण गर्न ५ जना छोरीहरू आएका थिए । सत्यवादी विद्यालय पढ्ने मिना विष्ट, भवानी मावि पढ्ने प्रमिला सिंह, पाण्डु मावि पढ्ने रामेश्वरी जोशी, सुनिपिपल चौर पढ्ने सरला महर र जालपा पढ्ने विनिता धामीले नारी दिवस समारोहमा भाषण गरे पछि उनीहरूलाई नगद सहित सम्मान गरेको थियो ।
यत्रो ठुलो आमसभामा हामीले कहिल्यै बोल्न पाएका थिएनौ विद्यार्थी मिना विष्टले भनिन् यस्तो अवसर दिएर अब हामी ठुलठुलो सभा समारोहमा पनि बोल्न सक्ने साहस बढेको छ ।








प्रतिक्रिया राख्नुहोस्