तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा युवक मृत्यु प्रकरणः स्थानीयद्वारा प्रहरी चौकी घेराउ 

चितवन । पूर्वी चितवनको कालिका नगरपालिका वडा नम्बर– ६, गुराउ चौरमा कन्चन तिमल्सिनाको मृत्यु भएपछि सो स्थान तनावग्रस्त भएको छ । स्थानीयले दोषी युवती र उनको परिवारलाई कारबाहीको माग गरेका छन् ।

स्थानीयवासीले वडाध्यक्ष विनोद रेग्मीको घर र प्रहरी चौकी खोलेसिमल घेराउ गरी नारा जुलुस समेत गरेका थिए । वडा अध्यक्ष रेग्मीले उल्टै पीडित परिवारलाई प्रहरी लगाई कुटपिट गर्न लगाएको र पीडितको पक्षमा नबोली केटी पक्षको बचाउमा लागेको आरोप लगाएका छन् ।

प्रेम सम्बन्धमा रहेका युवक र युवतीलाई युवतीका परिवारले अलग गराएपछि युवकले ६३ दिन अगाडि विष सेवन गरेका थिए । विष सेवन गरेका उनको हिजो अस्पतालमा मृत्यु भएपछि आफन्तले हिजो आइतबार युवतीको घर घेरेका थिए ।

युवतीको घरमा आक्रमण हुन थालेपछि प्रहरीले बल प्रयोग गरेको थियो । आक्रमणकारीले परालको टौवामा आगो लगाएका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर गरेको थियो ।

हिजो मृत्यु भएका तिमल्सिनाको लास भने आज पनि उठ्न सकेको छैन । उनको लास हिजो देखि नै घरको आँगनमै राखिएको छ । प्रहरीले ती युवतीको घर, वडा अध्यक्ष रेग्मीको घर र प्रहरी चौकी खोलेसिमलमा सयौँ सशस्त्र र जनपथ प्रहरी तैनाथ गरी कडा सुरक्षा दिइरहेको छ ।

मृतक तिमल्सिना परिवारले न्याय पाउनुपर्ने भन्दै सयौँ स्थानीयहरू सडकमा आएका हुन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button