तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङ–पर्वतः २० झोलुङ्गे पुलले जोडिएको बहुआयामिक सम्बन्ध

गलकोट । बागलुङ झोलुङ्गे पुलको जिल्ला भनेर स्थापित छ तर, यस्तो परिचय पछिल्लो समय छिमेकी जिल्ला पर्वतले पनि बनाइरहेको छ । पर्वतले पुलको नयाँ परिचयमात्रै होइन, पुलकै सहारामा जिल्लाको पर्यटन, व्यावसाय र समृद्विको अभियानमा पनि उल्लेख्य उभार ल्याएको छ ।

यी दुई जिल्लालाई दर्जनौँ झोलुङ्गे पुलले जोडेको छ । बागलुङ र पर्वत जिल्लाको सिमाना छुट्याउने ठूलो कालीगण्डकी नदी छ । दुई जिल्लाको बीचबाट बगेको पवित्र कालीगण्डकी नदीका कारण दुई जिल्लाको सम्बन्ध भौतिक र भौगोलिकरुपमा टाढा छ ।

यी दुबै जिल्लालाई जोड्ने हालसम्म एकमात्रै मोटरेबल पुल मालढुङ्गामा छ । त्योबाहेक बागलुङ र पर्वत जिल्लाको सम्बन्ध जोड्न घण्टौँ यात्रा गर्नुपर्ने बाध्यता छ । यी बाध्यतालाई हटाउन र दुबै जिल्लाबीच अटुट सम्बन्ध स्थापना गर्न झोलुङ्गे पुलले महत्वपूर्ण भूमिका खेलेको छ ।

पुलले यात्राको दूरी मात्रै छोट्याएको छैन । दुई जिल्लाका नागरिकबीच निकट सम्बन्ध स्थापित पनि गरेको छ । पछिल्लो ५० वर्षयता बागलुङ र पर्वतको सम्बन्ध कालीगण्डकी नदीको तीव्र बहावका बाबजुत २० झोलुङ्गे पुलले यात्रा र सम्बन्धमा सहजता थपेको छ । अझै नयाँ पुल थपिने क्रमसमेत जारी छ ।

दुई जिल्लाको सम्बन्ध जोड्न बागलुङ नगरपालिका–४ फोस्रे–पर्वतको जलजला गाउँपालिका जोड्ने झोलुङ्गे पुलदेखि बागलुङ जिल्लाको जैमिनी नगरपालिकाको बेलबगर–श्रीकाङ झोलुङ्गे पुलसम्म २० झोलुङ्गे पुल छन् । कालीगण्डकी माथि बागलुङ र पर्वत जोड्न बागलुङ नगरपालिका–४ फोस्रे र पर्वत जिल्लाको जलजला गाउँपालिका जोड्ने पुल, खनियाघाट झोलुङ्गे पुल, बाङ्गेचौर अदुवाबारी जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुल, नयाँ पुलस्थित झोलुङ्गे पुल, बागलुङ–वलेवा बन्जी पुल, कुस्मा पर्वत यन्त्रिक पुल, गोपाङघाटको पुरानो झोलुङ्गे पुल, कल्लेरी घाटको पुरानो झोलुङ्गे पुल, बलेवाको कैया–कुस्मा जोड्ने ३४७ मिटर लामो झोलुङ्गे पुल, मोदोवेणी नागबौर झोलुङ्गेपुल, कैया–मुडिकुवा ३०० मिटर लामो झोलुङ्गे पुल, सरङ्गी मुडिकुवा झोलुङ्गे पुल, टाकुरी फलेवास झोलुङ्गे पुल, जैमिनी घाट फलेवास झोलुङ्गे पुल, ठेउलेखोला फलेवास जैमिनी झोलुङ्गे पुल, विनामारे मिरिङ्गी फलेवास झोलुङ्गे पुल, मिरिङ्गे सानो झोलुङ्गे पुल, सुम्सा फलेवास झोलुङ्गे पुल, वेलवगर–कर्नास झोलुङ्गे पुल र छिस्ती–दुर्लाङ झोलुङ्गे छन् ।

पर्वत र बागलुङ जोड्ने गरी यसरी निर्माण गरिएको पुलले दुई जिल्लाको सम्बन्ध, आयात निर्यात, रोजीरोटीलगायतका विषयमा सहज बनेको स्थानीय बताउँछन् । पर्वत जिल्लाको सदरमुकाम कुस्मामा रोजगारी गर्दा त्यही बाँस बस्नुपर्ने समस्या रहेको बागलुङ जिल्लाको दक्षिण क्षेत्र बलेवा, जैमिनीका नागरिक अहिले झोलुङ्गे पुलकै कारण एक घण्टामा नै घरमै पुग्ेन गरेका छन् ।

सात वर्षअघि बागलुङ जिल्लाको बलेवादेखि कुस्मा नगरपालिका जोड्ने दुई साना झोलुङ्गे पुल मात्रै थिए । उक्त पुल तर्न तल खोचमै झर्नुपर्ने थियो तर, पछिल्लो समय निर्माण भइरहेका लामा र अग्ला झोलुङ्गे पुलले बागलुङ र पर्वत जिल्लालाई नयाँ ढङ्गले परिचितसमेत गराएको बागलुङ बलेवाका भरत बागलुङेले बताउनुभयो ।

दुई जिल्लाको बीचमा कालिगण्डकी माथि बनेका नयाँ पुराना झोलुङ्गे पुलले यात्रा मात्रै छोट्याएको छैन । आर्थिक गतिविधि, पर्यटकीय क्षेत्र स्थापना तथा दुई जिल्लाबीचको जनजीवन सहज पु¥याउने बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । बागलुङ झोलुङ्गे पुलको जिल्लाको रुपमा समेत परिचित छ । अब यसलाई विश्वको लामो झोलुङ्गे पुल भएको जिल्लाका रुपमा समेत चिनाउनका लागि विश्व रेकर्डको तयारीमा रहेको नगर प्रमुख पौडेलले बताउनुभयो ।

पुलका कारण बागलुङको दक्षिण भेगका जनता अध्ययन, रोजगारी तथा खरिद बिक्रीका लागि पर्वत जिल्लाको सदरमुकाम कुस्मा बजार जाने गरेका छन् । त्यस्तै कुस्मा नगरपालिका–१ र जलजला गाउँपालिकाका स्थानीय व्यवसाय, रोजगारी तथा अध्ययनका लागि अहिले दैनिकरुपमा बागलुङ बजार आउने गरेका छन् । दूरी मात्रै छोट्टाएको छैन, यसले कृषिउपजको सहज बजारीकरण, ढुवानी खर्चको बचत तथा अध्ययन र रोजगारीका लागि डेरा लिनुपर्ने अवस्थाको अन्त्य भएको पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष केदारनाथ शर्माले जानकारी दिनुभयो ।

दक्षिण बागलुङका १६ गाविसले प्रशासनिक बाहेकका सबै गतिविधि पर्वतबाट लिने गरेको उहाँको भनाइ छ । बागलुङ जिल्लामा हालसम्म साना ठूला गरेर ५ सयभन्दा बढी झोलुङ्गे पुल छन् । झोलुङ्गे पुलको जिल्ला भनेर चिनिएको बागलुङ अब पर्वतसँग जोडेर लामा र अग्ला पुल भएको जिल्लाका रुपमा चिनिन थालेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button