तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा उद्योग दर्ता दोब्बर सङ्ख्याले वृद्धि

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको माघ मसान्तसम्म उद्योग दर्ता दोब्बरले बढेको छ ।

घरेलु तथा साना उद्योग कार्यालय महेन्द्रनगरले उद्योग दर्ता विगतको वर्ष भन्दा यस वर्ष दोब्बरले बढेको र माघ मसान्तसम्म मात्रै १ हजार ५ सय ३८ उद्योग दर्ता भएको जनाएको छ ।

गत आर्थिक वर्ष २०७६–७७ मा जिल्लामा घरेलु तथा साना उद्योग कार्यालय महेन्द्रनगरले ७ सय ३४ उद्योग दर्ता गरेको थियो ।

घरेलु तथा साना उद्योग कार्यालय महेन्द्रनगरका सूचना अधिकारी धर्नानन्द भट्टले पछिल्लो समयमा सरकारले महिला उद्यमीहरूको लागि उद्योग दर्तामा छुटको व्यवस्था गरेका कारण यस वर्ष उद्योग दर्ता बढेको बत्ताउनुभयो ।

विगतका वर्षहरूमा उद्योग दर्ताको लागि १२ हजार १ सय रुपैयाँ राजस्व बुझाउनु पर्ने व्यवस्था रहेकोमा महिलाको नाममा दर्ता गरेपछि ६ सयमा दर्ता हुने गरेको छ ।

नयाँ व्यवस्था अनुसार उद्योग दर्ता गरेको ५ वर्षसम्म नवीकरण गर्नुपर्ने झन्झट हुँदैन । नवीकरण गर्ने उद्योगले पाँच वर्षपछि मात्रै नवीकरण गर्नुपर्ने प्रावधान भएकोले उद्योग दर्ता बढे पनि सञ्चालनको अवस्था भने आशालाग्दो नभएको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button