खप्तडछान्ना गाउँपालिका–१ मा आधारभूत कम्प्युटर तालिम सुरु
बझाङ । खप्तडछान्ना गाउँपालिका वडा नं १ मा आधारभूत कम्प्युटर तालिम सुरु भएको छ । घरेलु तथा साना उद्योग विकास कार्यालय चैनपुरको आर्थिक सहयोग र भवानी कम्प्युटर ट्रेनिङ सेन्टरको प्राविधिक सहयोगमा तालिम सुरु भएको हो ।
आइतबार शैल्यश्वरी मा.वि मा एक कार्यक्रमबिच घरेलु तथा साना उद्योग विकास कार्यालयका निमित्त कार्यालय प्रमुख कृष्ण नेपालीले तालिमको उद्घाटन गर्नुभएको छ ।
उहाँले अहिलेको युग प्रविधिको युग भएकोले कम्प्युटर शिक्षाको महत्त्व बढ्दै गएको र यसको प्रयोगसम्बन्धी सीप सिकाउनु आवश्यक रहेको बताउनुभयो । कार्यालयले सबैको पहुँच नपुगेका विकट ठाउँमा पनि यस्ता तालिम सञ्चालन गरिरहेको र गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा भवानी कम्प्युटर ट्रेनिङ सेन्टरका प्रोप्राइटर अक्कल बोहराले बेरोजगारी युवालाई तालिमले स्वरोजगार बन्न र आत्मनिर्भर हुन सहयोग पुर्याउने भन्दै तालिमभर अनुशासित, लगनशील र मर्यादित भई ज्ञान लिन सहभागीलाई आग्रह गर्नुभयो ।
आधारभूत कम्प्युटर शिक्षा र प्रविधिमा पहुँच बढाउने उद्देश्यले तालिमको आयोजना गरेको र दुर्गम तथा कम्प्युटर शिक्षाको सहज पहुँच नभएकाहरूका लागि तालिम राम्रो अवसर भएको घरेलु तथा साना उद्योग विकास कार्यालयका वरिष्ठ उद्यम विकास सहजकर्ता दशरथ जप्रेलले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्