प्रधानमन्त्री ओलीले लगाउनुभयो कोराना भाइरस विरुद्धको खोप ‘कोभिशिल्ड’

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको दोस्रो चरणको खोप अभियान शुभारम्भ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट ल्याइएको कोभिशिल्ड खोप लगाएर अभियानको शुभारम्भ गनुृभएको हो ।
शिक्षण अस्पताल पुगेर प्रधानमन्त्री ओलीले आफैले खोप लगाई दोस्रो चरणको अभियान सुरु गर्नुभएको हो ।
प्रधानमन्त्रीसँगै उहाँकी धर्मपत्नि राधिका शाक्य, अर्थमन्त्री विष्णु पौडल र उद्योगमन्त्री लेखराज भट्ट लगायतका मन्त्रीहरुले पनि खोप लगाउनुभयो । समारोहमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले स्वागत गर्नुभएको थियो ।
आजदेखि सुरु भएको खोप अभियानमा १० दिनसम्म ६५ वर्ष माथि उमेर समूहका नागरिकलाई प्राथमिकतामा राखी खोप लगाइने र ११ औ दिन देखि बाँकी १० दिन सम्म ५५ वर्ष माथिका नागरिकलाई खोप लगाइने मन्त्री त्रिपाठीले बताउनुभयो ।
मन्त्री त्रिपाठीले देशभर ६ हजार बढी खोप केन्द्रबाट सञ्चालन हुने खोप अभियानको यस चरणमा ३७ लाख व्यक्तिलाई खोप लगाइने लक्ष्य रहेको जानकारी गराउनुभयो ।

यस्तै, आज कोभ्याक्स् सहयोगको ३ लाख ४८ हजार डोज खोप नेपाल आइपुग्ने मन्त्री त्रिपाठीले जानकारी दिनुभयो । उहाँले कोभ्याक्स सुविधा अन्तर्गत २० प्रतिशत नागरिकलाई पुग्ने खोप प्राप्त हुने क्रम सुरु भएको बताउनुभयो ।
नेपालले कूल १ करोड ४८ लाख डोज खोप प्राप्त गर्ने प्रतिबद्धता अनुसार अव ५० लाख खोप खरिदको प्रक्रियामा रहेको समेत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।









प्रतिक्रिया राख्नुहोस्