खोप सबै जनताको पहुँचमा पुर्याउने सरकारको प्रयासः मन्त्री त्रिपाठी
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदेयश त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप सबै जनताको पहुँचमा पुर्याउने प्रयास भइरहेको बताउनुभएको छ ।
मन्त्रालयले आयोजना गरेको ‘कोभिड–१९ खोप अभियान’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले सबै जनतालाई खोप उपलब्धता जटिल भए पनि विभिन्न माध्यमबाट खोप खरीद गरी पुर्याउने प्रयास भइरहेको बताउनुभयो ।
सरकारले कूल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप उपलब्ध गराउने लक्ष्य लिएको छ । पहिलो चरणअन्तर्गत १।४ प्रतिशतलाई खोप प्रदान गरेको छ । मन्त्री त्रिपाठीले भारतमा उत्पादन भएको कोभिशिल्ड खोपको ५० लाख मात्रा किन्ने प्रक्रियासमेत शुरु भइसकेको जानकारी दिनुभयो ।
यसअघि सरकारले भारत सरकारको अनुदानमा १० लाख मात्रा खोप र खरीद गरेको १० लाख मात्रा खोप आइसकेको छ भने १० लाख मात्रा खोप भारतबाट आउने प्रक्रियामा रहेको छ ।
मन्त्री त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप नेपालमा परीक्षणका लागि धेरै प्रयास भए पनि नदिएको स्पष्ट पार्नुभयो । उहाँले अहिले तेस्रो चरणको परीक्षणपश्चात् विश्व स्वास्थ्य सङ्गठनले पनि अनुमोदन गरिसकेकाले ढुक्क भएर कोभिशिल्ड खोप लगाउन सबैमा आग्रह गर्नुभयो । उहाँले खोपबारे गलत प्रचार नगर्न समेत अनुरोध गर्नुभयो ।
सरकारले भोलिदेखि दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप लगाउने भएको छ । २० दिनसम्म चल्ने खोप अभियानमा १६ हजार ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिँदैछ ।
स्वास्थ्य सचिव लक्ष्मण अर्यालले कोभ्याक्स संयन्त्रबाट प्राप्त हुने ३ लाख ४८ हजार खोप भोलि नेपाल आउन थालेको जानकारी दिनुभयो । सरकारले कोभ्याक्स संयन्त्रमार्फत १ करोड ३० लाख खोप ल्याउने तयारी गरेको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)मा कोभ्याक्समार्फत बर्मा, श्रीलङ्का र नेपालले मात्र खोप पाउने भएका छन् ।
सचिव अर्यालले भारतको सेरम इन्स्टिच्युट कम्पनीसँग खरीद गरेको खोप पनि एक हप्ताभित्र आउने बताउनुभयो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना भाइरसले आक्रमण नगर्ने भएकाले सबैलाई खोप लगाउन आग्रह गर्नुभयो ।
यसअघि पहिलो चरणको खोप अभियानअन्तर्गत चार लाख २९ हजारले खोप लगाएका थिए । पहिलो चरण गत माघ १४ देखि फागुन १० गतेसम्म सञ्चालन भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्