प्राथमिक स्वास्थ्य केन्द्रलाई क्षयरोग जाँच्ने अत्याधुनिक उपकरण प्राप्त

बर्दिबास । महोत्तरीको गौशालास्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई क्षयरोग जाँच्ने अत्याधुनिक उपकरण जिन एक्सपर्ट प्राप्त भएको छ ।
वि एन एमटी नेपाल नामक संस्थाले अत्याधुनिक प्रविधियुक्त क्षयरोग जाँच्ने उपकरण प्रदान गरेको हो ।
प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा शुक्रवार आयोजित एक समारोहकाबीच वि एन एमटी नेपालका निर्देशक सुमनचन्द्र गुरुङले गौशाला नगरपालिकाका नगर प्रमुख शिवनाथ महतोलाई सो उपकरण हस्तान्तरण गर्नुभएको हो ।
अत्याधुनिक मेसिनमा एक पटकमा ४ जनाको परीक्षण २ घण्टाभित्रमा रिपोर्ट तयार हुने किसिमको मेसिन जडान भएपछि सर्वसाधारणलाई सो रोगबाट अकालमा ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य हुने निर्देशक गुरुङले बताउनुभयो ।

गौशाला नगरपालिकाका नगरप्रमुख शिवनाथ महतोले प्रदेशकै नमुना स्वास्थ्य संस्थाको रुपमा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्थापित गर्नका लागि हर सम्भव तयार रहेको बताउनुभयो ।
उहाँले प्रदेश सरकार लगायतका सरोकारवाला निकायसँग आवश्यक जनशक्ति एवम् प्राविधिक सहयोग लिई प्रदेश २ मै नमुना स्वास्थ्य संस्थाको रुपमा स्थापित गर्नका लागि नगरपालिका तयार रहेको बताउनुभयो ।
नगर प्रमुख महतोले पछिल्लो समयमा भएको कमी कमजोरीलाई मनन गर्दै नगरभरिका स्वास्थ्य संस्थालाई सुधार गर्दै कार्यसम्पादन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
क्षयरोगको जाँच र उपचार पद्धतिको मूल्याङ्कन गर्ने काम यस मेसिनले आवश्यक रुपमा गर्ने भएकोले यसलाई सुरक्षित रुपमा कार्यसम्पादन गर्न प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त प्रमुख डा. राजीव झाले आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयका कार्यकारी निर्देशक विजयकुमार झाले प्रदेश २ सरकारले स्वास्थ्य क्षेत्रमा प्रदेशलाई नमुनाको रुपमा स्थापित गर्न चाहेको बताउनुभयो ।
अन्य प्रदेशको तुलनामा प्रदेश २ लाई उत्कृष्ट र नमुना बनाउनका लागि चाँडै नै स्वास्थ्य नीति ल्याउन लागेको निर्देशक झाले जानकारी दिनुभयो ।
उहाँले प्राथमिक स्वास्थ्य केन्द्र गौशालालाई प्रदेशकै उत्कृष्ट स्वास्थ्य संस्थाको रुपमा स्थापित गर्नका लागि आग्रह गर्दै झाले आवश्यक परेको खण्डमा हरेक किसिमको सहयोग गर्न तयार रहेको बताउनुभयो ।
पहिलो दिनको परीक्षणमा दुई जनामा क्षयरोगको लक्षण देखियो
प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा सञ्चालनमा आएको जिन स्पोट नामक अत्याधुनिक प्रविधिमार्फत पहिलो दिन गरिएको क्षयरोग परीक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
पहिलो दिन ४ जनामा गरिएको परीक्षणमा २ जनामा सो रोग फेला परेको प्राथमिक स्वास्थ्य केन्द्र गौशालाका प्रमुख डा. रवीन्द्र कुमार कुशवाहाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्