तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नंं २ को चार जिल्ला कोरोना सङ्क्रमणमुक्त

जनकपुरधाम । प्रदेश नंं २ को ४ जिल्ला कोरोनाबाट मुक्त भएको प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक प्रदेश नंं २ महोत्तरी र सर्लाही कोरोना सङ्क्रमणमुक्त जिल्ला भएको मन्त्रालयका वरिष्ठ चिकित्सक डा. कमलेशप्रसाद यादवले जानकारी दिनु भएको छ ।

यस अघि सप्तरी र सिराहा जिल्ला कोरोना सङ्क्रमणमुक्त जिल्ला भएका थिए ।

यी जिल्लाहरूको संस्थागत तथा होम आइसोलेसनमा एक जना पनि कोरोनाका सक्रिय सङ्क्रमित नभएकाले सङ्क्रमणमुक्त भएको छ ।

प्रदेश २ मा कोरोना सङ्क्रमितको सङ्ख्या निरन्तर रुपमा घटिरहेका पनि प्रदेश २ का स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

अहिले धनुषामा ७, बारामा ४, रौतहटमा २ र पर्सा जिल्लामा १ जना गरेर कूल १४ जना कोरोनाका सक्रिय सङ्क्रमितहरू होम आइसोलेसनमा रहेर उपचार गराइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

खास गरेर शङ्का लागेका व्यक्ति आफै सम्बन्धित जिल्लाको स्वाब सङ्कलन केन्द्रमा आएर स्वाब दिने गर्नु भएको छ ।

कोरोनाका आशङ्कामा धनुषामा आज मात्र २१ जनाको स्वाब सङ्कलन भएकोमा योसँगै हालसम्म नतिजा आउन बाँकी रहेकाको सङ्ख्या ३५ जना रहेको सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख रहेको छ ।

हालसम्म प्रदेश २ को ८ जिल्लामा १ लाख ४६ हजार १ सय ९ जनाको स्वाब सङ्कलन गरेकोमा परीक्षण गर्दा १७ हजार १ सय ९८ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

यसै गरी कोरोनाका कारणले २ सय ९ जनाको मृत्यु भएको छ । १६ हजार ९ सय ७५ जना निको भएर घर फर्किएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ चिकित्सक डा. यादवले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button