ठगी गरेको आरोपमा श्रीराम कोलोनीका सञ्चालक पक्राउ
वीरगञ्ज । वीरगन्जको श्रीराम कोलोनीका सञ्चालक एवं जग्गा कारोबारी प्रेम जाटियालाई प्रहरीले १७ जना भन्दा बढीलाई ठगी गरेको आरोपमा आज पक्राउ गरेको छ ।
वीरगन्जको नर्सिङ क्याम्पस नजिकै रहेको श्रीराम कोलोनीमा खरिद गरेका जग्गा धनीमध्ये १७ जनाहरू ठगिएको १० वर्षपछि थाहा पाएसँगै जिल्ला प्रहरी कार्यालयमा छुट्टाछुट्टै ठगीको मुद्दा दर्ता भएसँगै पर्सा प्रहरीले जाटियालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओम प्रकाश खनालले बताउनुभयो ।
तत्कालीन जग्गाधनी रवि कुमार तथा अधिकृत वारेसनामा रहेका प्रेम जाटियाले मोहीको जग्गा एकल अधिकार भन्दै बिक्री गरेको तर हाल आएर सो जग्गामा मोही रहेको फेला परेपछि आफूहरू ठगिएको भन्दै कोलोनीमा जग्गा किनेर घर बनाएकाहरूले जिल्ला प्रहरी कार्यालयमा प्रेम जाटिया र रवि कुमारविरुद्ध मुद्दा दर्ता गरेका थिए ।
ठगिएको जग्गाधनीमध्येका कृष्णकुमार सर्राफले २०६० सालदेखि श्रीराम कोलोनीमा जग्गा बिक्री शुरु भएको र आफू लगायत १७ जनाले २०६५ सालदेखि घर बनाई बसेको तर अहिले आएर एक्कासि मोहीवाला राजुसिंह राजपूतले मुद्दा दर्ता गरेपछि आफूहरु ठगिएको खुलासा भएको बताउनुभयो ।
रुद्रदेवी उपाध्यायबाट उक्त जग्गा गोपाल अग्रवालले खरिद गरेको र अग्रवालको जग्गा कित्ता नं. ६० बाट २०६० सालमा जाटियाले ७ कट्ठा जग्गा खरिद गरी ३५ नं. कित्ता बनाएको र कित्ताकाट गरी १७ जनालाई बिक्री गरेको प्रमाणले देखाएको छ । सो जग्गामा अहिले चार तले सम्मका घर निर्माण भएको र अहिले एक्कासि मोहीवालाले भूमिसुधारमा मुद्दा हालेपछि आफूहरु बिचल्लीमा परेको पीडितहरूले बताएका छन् ।
आफूहरू ठगिएको भन्दै प्रेम जाटिया र रवि कुमारविरुद्ध उजुरी दिनेहरूमा शान्ति कार्की, उषा मण्डल, रेखा श्रीवास्तव, अमित कुमार महतोल, कृष्णकुमार सर्राफ, रामबाबुप्रसाद कलवार, गीता सिंह, मिना देवी, शशिकान्त चौधरी, हरि शर्मा लगायतका रहेका छन् ।
पक्राउ परेका जाटियालाई ठगी मुद्दामा अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान अगाडी बढाइएको र फरार रवि कुमारको खोज तलास भइरहेको प्रहरी प्रवक्ता खनालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्