लागु औषधसहित चार जना पक्राउ

इलाम । इलाममा लागु औषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा खटिएको प्रहरीले इलाम नगरपालिका वडा नं ७ फुलगाछीस्थित योग प्रसाद घिमिरेको घरमा भाडा लिएर बस्ने चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा इलामको सूर्योदय नगरपालिका वडा नं १० बस्ने दियोग राई, देउमाई नगरपालिका ४ का प्रवेश तिरुवा विक, इलाम नगरपालिका ५ का योगेश राई र पाँचथर जिल्ला फिदीम नगरपालिका १० का अनिल लिम्बु रहेका छन् । लागु औषध सेवन गरिरहेको अवस्थामा उनीहरूलाई प्रहरीले फेला पारेको थियो ।
प्रहरीले सो स्थानमा खानतलासी गर्दा स्टिलको प्लेट १ थान ,रु पाँचको नोट ३ थान , ब्राउन सुगर जस्तो देखिने पदार्थ ७५० मिलिग्राम, लागु औषध सेवन गर्न प्रयोग गर्ने ढुङ्ग्रो समेत फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।
चार जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले बताउनुभयो ।









प्रतिक्रिया राख्नुहोस्