दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
नेपालगञ्ज। बाँकेमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् । आज विहान कोहलपुर नगरपालिका वडा नम्बर ३ किरण नाला नजिकै भे १ ख २२३९ नम्बरको बस र भे १० प ५६१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार कोहलपुर ३ का २५ बर्षीय विरेन्द्र शाहीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । तीब्र गतिमा रहेको बसले पैदल र साइकलयात्रीलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट साइकलयात्री बैजनाथ २ का २१ बर्षीय प्रदिप आचार्य र कोहलपुर ३ का पैदलयात्री १९ बर्षीय प्रकाश महतरा घाइते भएको प्रहरीले जनाएको छ ।
उनीहरुको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । यस्तै गएराति राप्तीसोनारी ९ ढकेरीमा ना ८ प ५४५६ नम्बरको टिप्परको ठक्करबाट भे ८ प ३७९५ नम्बरको मोटरसाइकलमा सवार राप्तीसोनारी ५ का २५ बर्षीय ढकबहादुर खड्काको मृत्यु भएको छ ।
दुर्घटनामा सोही मोटरसाइकलमा सवार राप्तीसोनारी ५ कै ३५ बर्षीय मान बहादुर खड्का र भे ५ प ३८८९ नम्बरको मोटरसाइकलमा सवार ५१ बर्षीय सञ्जय चन्द घाइते भएको बाँके प्रहरीले जनाएको छ । टिप्परले दुई वटा मोटरसाइकललाई ठक्कर दिएको थियो । दुबै जनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्