भाइरल ज्वरो फैलिएपछि विद्यालय पाँच दिनका लागि बन्द
अछाम | समुदायमा भाइरल ज्वरोको प्रकोप फैलिएपछि अछामको एक विद्यालय पाँच दिनका लागि बन्द गरिएको छ । मङ्गलसेन नगरपालिका वडा नम्बर ११ जुपुमा रहेको कालिका माध्यमिक विद्यालयलाई ५ दिनका लागि बन्द गरिएको हाे । समुदाय तथा शिक्षक र विद्यार्थीमा एक्कासि भाइरल ज्वरोको प्रकोप देखिएपछि फागुन २१ गतेसम्मका लागि पठनपाठन बन्द गरिएको विद्यालयका प्रधानाध्यापक कर्ण बहादुर शाहले जानकारी दिनुभयो ।
करिब १ हप्तादेखि दैनिक जसो शिक्षक तथा विद्यार्थीमा ज्वरो आउने, पेट दुख्ने, बान्ता गर्ने, टाउको दुख्ने लगायतका लक्षण देखिएपछि जिल्ला प्रशासन, मङ्गलसेन नगरपालिका, शिक्षा विकास तथा समन्वय इकाइ अछाम, स्वास्थ्य कार्यालय, वडा कार्यालय एवम् अभिभावकको समन्वयमा फागुन १७ गतेदेखि २१ गते सम्मका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक शाहले बताउनु भयो ।
करिब ७ दिन अघि देखि सुरु भएको भाइरल ज्वरो नियन्त्रण नभएपछी सबैको समन्वयमा विद्यालयको प्रशासनिक काम जारी रहने गरी पठनपाठन बन्द गरिएको छ । विद्यालयमा भाइरल ज्वरोको प्रकोप बढेपछि आइतबार जिल्ला अस्पताल र जुपु स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको टोलीले चेकजाँच सहित बिरामीको उपचार समेत गरेको छ ।
स्वास्थ्यकर्मीको टोलीले कोरोनाभाइरस, मलेरिया, कालाजारको समेत परिक्षण गरेको र कसैलाई नदेखिएकाले भाइरल ज्वरो नै हुनसक्ने स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाले बताउनु भयो । स्वास्थ्यकर्मीको टोली विद्यालयमै गएर उपचार गरेको र केही रिपोर्ट आउन बाँकी समेत रहेको उहाँले बताउनुभयो ।
मौसम परिवर्तन सँगै गर्मी याम सुरु भएको तथा भाइरल ज्वरो हुनसक्ने र तत्काल नियन्त्रणमा समेत आउने भएकाले कसैलाई नआत्तिन उहाँले आग्रह गर्नुभयो । कसैको स्वास्थ्यमा समस्या आइपरे नगर तथा जुपु स्वास्थ्य चौकीको स्वास्थ्यकर्मीको टोली समेत तयारी अवस्थामा रहेको ढुङ्गानाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्