परीक्षा हलमा तालाबन्दी, २ घण्टा पछि परीक्षा सुचारु

सप्तरी । सप्तरीको सप्तकोसी नगरपालिकाले आज लिन लागेको टिएलएम शिक्षकहरूको परीक्षा हलमा तालाबन्दी हुँदा २ घण्टा ढिलो गरेर परीक्षा सुचारु भएको छ ।
सप्तकोसी नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयहरूको आधारभूत तथा माध्यमिक तहमा गरी १८ जनाको पद खुल्ला गरी हुन लागेको टिएलएम आधारभूत तहको करार शिक्षकहरूको परीक्षा स्थगनको माग राख्दै नेकपा प्रचण्ड–नेपाल समूह, जसपा, र राप्रपा नेपालले संयुक्त रुपमा परीक्षा हलमा तालाबन्दी गरी परीक्षामा अवरोध गर्दा परीक्षा २ घण्टा अवरोध भएको थियो ।
परीक्षा हुने समय ११ बजे तोकिएता पनि तालाबन्दीका कारण २ घण्टा ढिलो गरेर नगरपालिकाले प्रशासनको रोहवरमा ताला खोली १ बजेबाट पुन परीक्षा सुरु गरेको शिक्षा अधिकृत रमेश कुमार खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार आधारभूत तहको १७ गते हुने परीक्षामा ५१ जना परीक्षार्थीले आवेदन दिएका छन् भने १८ गते हुने माध्यमिक तहमा ११ जनाले आवेदन दिएका छन् ।

विभिन्न ९ बुँदे माग राख्दै सप्तकोसी नगरपालिकाका ८ वटा वडा अध्यक्षहरूले नगरपालिकामा ज्ञापन पत्र बुझाउँदा समेत नगर प्रमुखले बेवास्ता गरी जबरजस्ती परीक्षा सुरु गर्न लागेकोले परीक्षा हलमा तालाबन्दी गरिएको जसपाका नगर अध्यक्ष रामकुमार यादवले बताउनुभयो ।
परीक्षा हलमा तालाबन्दी पछि पत्रकार सम्मेलनको आयोजना गर्दै दलहरूले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले आफू खुसी आफन्त लाई नियुक्ति गर्ने गरेकोले विगतमा भएको गणकको परीक्षा रद्द गरी पुन गर्नु परेको र नगरपालिकामा कर्मचारी नियुक्ति गर्दा कार्यपालिकाको बैठक नै नबसी विधि प्रक्रिया मिचेर भएका सबै प्रकारका नियुक्तिहरू खारेज गरी विधिसम्मत पारदर्शी तरिकाबाट कर्मचारी भर्ना नगरी कसैलाई थाहा नदिई आफन्त र कर्मचारीका छोरी श्रीमतीलाई नियुक्ति गर्न खोजिएकोले परीक्षा हलमा तालाबन्दी गरिएको सप्तकोसी नगरपालिका वडा न १ का वडा अध्यक्ष नारायण प्रसाद आचार्यले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।
कर्मचारी नियुक्ति र तालाबन्दीको विषयमा नगर प्रमुख उत्तम कुमार शर्मासँग बुझ्दा कर्मचारी नियुक्त गर्दा नगरपालिका विधिसम्मत नै सार्वजनिक रुपमा सूचना प्रकाशित गरेर नै परीक्षा गरिएकोले यसलाई अवैधानिक भन्न नमिल्ने बताउनुभयो ।
गणकहरूको परीक्षा मात्रै भएको परीक्षामा पास भएकाहरूलाई अहिले सम्म नियुक्ति गरिएको छैन यदि कसैलाई शङ्का लाग्छ भने छानबिन समिति बनाएर छानबिन गर्न समेत आग्रह गर्नु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्