पर्सा राष्ट्रिय निकुञ्जको ऐतिहासिक हलखोरिया दहको संरक्षणमा निकुञ्ज जुट्यो

वीरगंज । सुख्खायाम शुरु भएसँगै पर्सा राष्ट्रिय निकुञ्जभित्रको सबैभन्दा ठुलो प्राकृतिक पानीको स्रोत एवं ऐतिहासिक हलखोरिया दहको सफाइ तथा संरक्षणमा निकुञ्ज जुटेको छ ।
दुर्लभ वन्यजन्तु तथा विभिन्न प्रजातिका चराचुरुङ्गीको वासस्थान रहेको हलखोरिया दह संरक्षणको अभावमा सुक्दै गएपछि निकुञ्जले सफाइ सुरु गरेको हो । बर्खायामको पानीलाई सञ्चित गर्ने र जमिनमुनिको पानीलाई समेत रिचार्ज गरी चराचुरुङ्गी तथा वन्यजन्तुका लागि पिउने पानीको व्यवस्था गर्न सफाइ सुरु गरिएको पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रमेशकुमार यादवले बताउनुभयो ।
जलचर, चराचुरुङ्गी तथा वन्यजन्तुहरूलाई पानीको व्यवस्था गर्न मिचाहा प्रवृत्तिका झारहरू दहबाट निकालिएको यादवले जानकारी दिनुभयो । दलदले जमिन भएको हलखोरिया दह चराचुरुङ्गी तथा दुर्लभ वन्यजन्तुको वासस्थान तथा क्रिडास्थलको रुपमा समेत चिनिन्छ । दहको सफाइ गरेसँगै दहको स्वरूप नै परिवर्तन भएको छ ।
१४ जना स्थानीय युवा परिचालन गरेर दुई साता लगाएर दहको सफाइ गरिएको छ । हलखोरिया दहसँगै निकुञ्जले अगामी दिनमा निकुञ्जभित्रका कामिनी दह, रामभौरीभाटा लगायत दर्जनौँ प्राकृतिक पानीका स्रोत भएका दहहरूको समेत सफाइ गर्ने योजना बनाएको पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत यादवले बताउनुभयो ।
जाडो छल्न साइबेरिया बाट आउने सारसदेखि स्थानीय प्रजातिका चराचुरुङ्गी क्रिडास्थलको रुपमा हलखोरिया, कामिनी रामभौरीभाटा स्थित दह रहेका छन् । १६ हेक्टर क्षेत्रफलमा फैलिएको हलखोरिया दहको वरपर दुर्लभ वन्यजन्तु गैँडाको उपयुक्त वासस्थान समेत रहेको छ ।
त्यसैले यस क्षेत्रमा गैँडा, दुर्लभ पाटे बाघ लगायतका वन्यजन्तु रहेका छन् ।
प्रदेश २ को एक मात्र पर्सा राष्ट्रिय निकुञ्जमा रहेका दहहरूमा गोही समेत छाडने योजना निकुञ्जले बनाएको सहायक संरक्षण अधिकृत यादवले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्