सडक अतिक्रमण गरी बनाइएका टहरा, पसल, व्यवसाय हटाउने अभियान शुरु

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्सा, जिल्ला ट्राफिक कार्यालय पर्सा र वीरगंज महानगरपालिका र ग्रिन सिटी सामुदायिक केन्द्रको संयुक्त टोलीले वीरगंजमा सडक अतिक्रमण गरी बनाइएका टहरा तथा फुटपाथमा सञ्चालन गरिएको व्यवसाय हटाउने अभियान शुरु गरेको छ ।
जिल्ला ट्राफिक कार्यालय पर्साका प्रहरी निरीक्षक सुमन कार्कीको नेतृत्वमा घण्टाघरदेखि नेशनल ट्रेडिङ्ग, मुर्ली चोक, त्रिमूर्ति चौक देखि हुँदै पावर हाउससम्म दायाँ बायाँ सडक अतिक्रमण गरी राखिएका निर्माण सामग्री देखि फुटपाथ व्यवसाय स–साना पसल, ठेला तथा टहराहरूलाई हटाइएको ग्रिन सिटी सामुदायिक केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले बताउनुभयो ।
सडक पेटिकाहरू अतिक्रमण गरी स–साना पसल, टहराहरू राखिएको हुनाले मानिसहरूलाई आवत–जावत गर्न तथा सवारी चालकहरूलाई सवारी चलाउन समस्या भएकाले फुटपाथ तथा सडक अतिक्रमण गरी राखिएका पसल, घर टहरा हटाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख सुमन कार्कीले बताउनुभयो ।
सडक तथा फुटपाथ अतिक्रमण गरी राखिएका स–साना पसल, ठेला तथा टहराहरू हटाउन पटक पटक माइकिङ गरिएको र व्यवसायीलाई सम्झाउँदा बुझाउँदा समेत अटेरी गरेपछि आफूहरू बल प्रयोग गरेर हटाउन बाध्य भएको कार्कीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्