गाउँमै पुगेर स्वास्थ्य जाँचदेखि,अपांग परिचयपत्र दिदै तातोपानी गाउँपालिका

जुम्ला।यहाँको तातोपानी गाउँपालिकाले घरदैलोमै पुगेर स्वास्थ्य चेकजाँच देखि अपांग परिचय पत्र वितरण गरिरहेको छ । अपांग व्यक्तिहरुको समस्यालाइ मध्यनजर गर्दै पहिलो पटक तातोपानीको दुर्गम क्षेत्र लामाबगरमै पुगेर गाउँपालिका उपाध्यक्ष,गंगादेवि उपाध्याय,६ नम्बर वडाध्यक्ष विशाल खड्का,प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद धिताल,लेखा अधिकृत मिलन बुढाथापा र डाक्टर अरुण श्रेष्ठ सहितको टोलीले अपांग परिचयपत्र तथा स्वास्थ्य जाँच गरेको छ ।
परिचयपत्र नविकरण गराउन,नयाँ लिन एकदिन बास बस्नु पर्ने समस्या, स्वास्थ्य चौकी सम्म पुगेर स्वास्थ्य जाँच गराउन नसक्ने विशेष खालका अपांग व्यक्तिहरुको राहतका लागि घरदैलोमै पुगेर परिचय पत्र वितरणका साथै स्वास्थ्य जाँच गरिएको उपाध्यक्ष गंगादेवि उपाध्यायले बताउनुभयो ।
उहाँका अनुसार आइतबार तातोपानी गाउँपालिका ७ स्थित दुर्गम बस्ती लामाबगर पुगेर त्यहाँका ११ जना अपांग व्यक्तिको परिचय पत्र नविकरण,नयाँ उपलब्ध तथा स्वास्थ्य जाँच गरिएको छ । जसमा (क) वर्गका ३ जना,(ख) वर्गका ७ र (ग) वर्गको १ जनालाई गरी ११ जनालाई परिचयपत्र उपलब्ध गराइएको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद धितालले जानकारी दिनुभयो ।

साथै,अपांग व्यक्तिको स्वास्थ्य जाँचका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठाका डाक्टर अरुण श्रेष्ठ लाई समेत गाउँमा लिईएको छ । गाउँमै पुगेर संचालन गरिएको घुम्ती शिविर मार्फत डाक्टर श्रेष्ठले स्वास्थ्य जाँच गर्नुभयो छ ।तातोपानी गाउँपालिकाका सबैभन्दा दुर्गममा रहेका ७ र ८ नम्बर वडाका ताम्ती,टोल्पा,सर्मी,बारगाउँ,सुर्की लगायतका बस्तीका अपांग व्यक्तिलाइ घरदैलोमै पुगेर नियमित स्वास्थ्य जाँच देखि परिचपत्र वितरण गर्ने लक्ष्य राखेको उपाध्यक्ष गंगादेवि उपाध्याले उल्लेख गर्नुभयो ।
गाउँमै आएर स्वास्थ्य जाँच परिचयपत्र पाउँदा अपांग व्यक्ति खुसी भएका छन् । शारिरिक समस्याका कारण स्वास्थ्य चौकी जान नसक्ने, परिचयपत्र नविकरण गर्न गाउँपालिका जान सक्ने अबस्था थिएन् । तर स्थानीय सरकार गाउँमै आएर सेवा दिदा संघियताको महसुश भएको समेत स्थानीयले बताएका छन् ।








प्रतिक्रिया राख्नुहोस्