रेडियो नेपालद्वारा आयोजित अन्तरक्रिया तथा तालिम पोखरामा शुरु
पोखरा । रेडियो प्रसार सेवा विकास समिति रेडियो नेपालले आयोजना गरेको ‘समावेशी कार्यक्रम तथा समाचारको विषय छनौट र समुदायको सहभागिता’ विषयक अन्तरक्रिया तथा तालिम पोखरामा शुरु भएको छ ।
त्रि दिवसीय ‘समावेशी कार्यक्रम तथा समाचारको विषय छनौट र समुदायको सहभागिता’ विषयक अन्तरक्रिया तथा तालिमको उद्घाटन आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गर्नुभएको हो । त्यस अवसरमा मुख्यमन्त्री गुरुङले रेडियो नेपालको उपस्थितिलाई अझै बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारले सञ्चालन गरेको रेडियोसँग धेरै सामर्थ्य रहेको चर्चा गर्नुहुँदै रेडियो नेपाललाई राष्ट्रकै दरिलो सञ्चार माध्यमको रुपमा उभ्याउनुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री गुरुङले रेडियो नेपालको कार्यक्रमहरूलाई प्रभावकारी बनाउन तथा यसको साख जोगाउन समयअनुसार प्रविधिसँग जोड्दै लैजानुपर्ने बताउनुभयो । “ मिडियाहरूको भिडमा रेडियो नेपालले आफूलाई अब्बल दर्जाको रुपमा साबित बनाउनुपर्छ, मुख्यमन्त्री गुरुङले भन्नुभयो” लाखौँ ताराहरूको बिचमा रेडियो नेपाल चन्द्रमा बन्न सकोस्” ।

रेडियोले समग्र जनतालाई विकासको मूलधारमा ल्याउनको लागि नागरिकलाई सू–सूचित पार्ने र नराम्रो पक्षको खबरदारी गर्नको लागि पनि ठूलो भूमिका खेल्ने भन्नुहुँदै मुख्यमन्त्री गुरुङले विभिन्न भाषामा सामग्री प्रसारण गर्ने हुनाले रेडियो नेपालबाट प्रसारित सामग्री समावेशी, सत्य, तथ्य तथा विश्वसनीय हुनुपर्नेमा जोड दिनुभयो ।
रेडियो नेपालले सञ्चालन गरेका कार्यक्रमहरू स्तरीय तथा प्रभावकारी छन् भन्ने सन्देश जनता माझ दिने गरी कार्यक्रमलाई सुधार र परिमार्जन गर्नेतर्फ पनि ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।
सोही अवसरमा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले रेडियो नेपालले रेडियो कार्यक्रमप्रतिको जनरुचि तथा सत्य, तथ्य समाचारहरू सम्प्रेषण गर्दै समय सापेक्ष अनुसार प्रविधिको भरपुर उपयोग गरी आफूलाई अब्बल दर्जामा साबित गर्नुपर्नेमा जोड दिनुभयो ।
रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालका हरेक कार्यक्रमलाई सरल र सहज बनाउन प्रविधिको रूपान्तरणसँगै रेडियोलाई थप परिष्कृत गर्दै लैजाने तयारी गरेको बताउनुभयो । उहाँले रेडियोका हरेक कार्यक्रमहरूलाई थप प्रभावकारी ढङ्गबाट सुन्ने मात्र नभई हेर्न मिल्ने समेत बनाउने नयाँ कार्य योजनाका साथ अगाडी बढेको बताउनुभयो ।

कार्यकारी निर्देशक केसीले रेडियो नेपालले आफ्ना कार्यक्रमहरूलाई प्रभावकारी बनाउन नयाँ ऐन, कानुन, नीति र योजनाहरूको खाका कोरिसकेको बताउनुभयो । नेपालजस्तो धेरै थरीका भाषाभाषी भएको मुलुकका समुदायलाई लक्षित गरी रेडियो नेपालले २१ भाषामा समाचार र २० भाषामा कार्यक्रमहरू प्रसारण गर्दै आइरहेको जानकारी दिनुभयो ।
तीन दिन सञ्चालन हुने उक्त तालिममा गण्डकी प्रदेशका ११ वटै जिल्लाका रेडियो नेपालमा कार्यरत रिपोर्टरहरू तथा प्रादेशिक कार्यालय पोखरामा कार्यरत सञ्चारकर्मी लगायतको सहभागिता छ ।
तालिमको पहिलो दिन आज भाषा विज्ञहरू जुना कुमारी गुरुङ, लोक बहादुर थापा लगायतले आ–आफ्नो प्रस्तुति राख्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्