गोठीगाउँका अग्निपीडितलाई जुम्ली सेवा समाज कतारको राहत
जुम्ला । जुम्ली सेवा समाज दोहा कतारको आर्थिक सहयोगमा जुम्ला तिला गाउँपालिका ७ का अग्निपीडितलाई राहत वितरण गरिएको छ । माघ १३ गते आगलागी हुँदा विस्थापित पीडित परिवारलाई आइतबार खाद्यान्न राहत उपलब्ध गराइएको हो ।
गोठीगाउँका ३० घरधुरीका अग्निपीडितलाई प्रतिव्यक्ति एक बोरा चामल, एक कम्बल, पाँच प्याकेट तेल र चार चक्की साबुन गरी प्रतिव्यक्ति ३ हजार ५ सय गरी करिब एक लाख ५ हजार बराबरको राहत वितरण गरिएको छ ।
रेडियो नेपालका जुम्ला सम्वाददाता सागर परियारको पहल तथा जुम्ली सेवा समाज कतारका अध्यक्ष बल बहादुर रोकाया र संस्थापक सदस्य रूपक सिञ्जाजीको संयोजकत्वमा सङ्कलित राहत आइतबार प्रशासनको समन्वयनमा वितरण गरिएको हो ।
कतारमा बस्ने जुम्ली युवाहरूले आफ्नो खर्च कटाएर गोठीगाउँका अग्निपीडितलाई पठाएको राहत प्रति प्रशासन, जनप्रतिनिधि तथा अग्निपीडितहरूले प्रशंसा समेत गरेका छन् ।
राहत बुझ्दै अग्निपीडित पर्वलाल रोकायाले विदेशमा बसेर अग्निपीडितको घाउमा मलम लगाएर जुम्ली सेवा समाज कतारले ठुलो मानवीयता देखाएको बताउनुभयो । उहाँले आगलागी हुँदा घरसँगै अन्नपात सबै जलेर नष्ट भएको र ओढ्ने ओछाउने, खाने केही नभएको अवस्थामा समस्यालाई बुझ्दै चामल, तेल, कम्बल दिँदा सारै खुसी लागेको उल्लेख गर्नुभयो ।
तिला गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया बुढाले खाडीमा बसेर पनि अग्निपीडितको पिडामा मलम लगाउन सहयोग गर्ने जुम्ली सेवा समाज कतार र समाचार लेखन सँगै राहतको पहल गर्ने पत्रकारलाई धन्यवाद दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले विपद् व्यवस्थापन, राहत उद्धारको काम एकै सरकारबाट मात्रै सम्भव नभएको बताउनुभयो । उहाँले सरकारको सहयात्रीका रुपमा अग्निपीडितको घाउमा मलम लगाउन जुम्ली सेवा समाज कतारले गरेको सहयोग उदाहरणीय भएको उल्लेख गर्नुभयो ।
जुम्ली सेवा समाज कतारका अध्यक्ष बल बहादुर रोकायाले आफ्नै जिल्लाका अग्निपीडितहरूको पीडामा थोरै भए पनि मलम लगाउन पाएकोमा खुसी व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्