तपाईँ सुन्दै हुनुहुन्छः

सिम्रौनगढमा पोखरी खन्ने क्रममा भव्य विष्णुको मूर्ति फेला पर्‍यो

वीरगंज । बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ मा पोखरी खन्ने क्रममा भगवान् विष्णुको १३ औँ शताब्दी पुरानो प्राचीन मूर्ति फेला परेको छ । पोखरी खन्दा फेला परेको मूर्ति आकर्षक र भव्य रहेको छ ।
सिम्रौनगढ नगरपालिका वडा न. ४ हरिहरपुर निवासी किशुन्दर महतोको खेतमा माछा पालनको लागि जेसिवीको प्रयोग गरी पोखरी खन्ने क्रममा प्राचीन भगवान् विष्णुको मूर्ति फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले बताउनुभयो ।
कालो रङ्गको ढुङ्गाको उक्त मूर्तिलाई सोही ठाउँमा रहेको महादेव मन्दिरमा राखिएको प्रहरी उपरीक्षक शाहीले बताउनुभयो ।
जमिन खन्ने क्रममा ऐतिहासिक सिम्रौनगढ क्षेत्रमा यसअघि पनि प्राचीन मूर्ति फेला पर्दै आएकोले यसको संरक्षणको लागि सरकारले ध्यान दिनुपर्ने माग सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष राजेश यादवले गर्नु भएको छ ।
फेला परेको मूर्ति १३ औँ शताब्दीको रहेको र ७ फिट लामो र चार फिट चौडाइ भएको मूर्तिको पुनः प्रतिस्थापनका लागि तयारी थालिएको वडा अध्यक्ष राजेशप्रसाद यादवले बताउनुभयो ।
ऐतिहासिक र वैभवशाली मानिएको सिम्रौनगढ क्षेत्र एक समय सबभन्दा ठुलो साम्राज्य भएको राज्य समेत रहेको इतिहासमा उल्लेख छ ।
१३ औँ शताब्दीमा सिम्रौनगढ राज्यमाथि भारतको ठुलो भू–भागमा राज्य गरिरहेका मुस्लिम राजा ग्यासउद्दिन तुलकले आक्रमण गरेर सिम्रौनगढ क्षेत्रका भव्य संरचना, मन्दिर र मूर्तिहरू नष्ट गरेको इतिहासमा उल्लेख छ ।
तत्कालीन समयमा सिम्रौनगढमा राज्य गरिरहेका राजा नरसिंह देव आक्रमण पछि भागेर काठमाडौँ पुगेको कुरा इतिहासमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button