तपाईँ सुन्दै हुनुहुन्छः

सूचनाको हक प्रत्याभूतिबाट मात्रै पारदर्शिता कायम हुन्छ : सूचना आयुक्त थापा

वीरगंज । राष्ट्रिय सूचना आयोगकी आयुक्त कमला ओली थापाले सूचनाको हक प्रत्याभूतिबाट मात्रै विकास र समृद्धि सँगै पारदर्शिता कायम हुने कुरामा जोड दिनुभएको छ ।
राष्ट्रिय सूचना आयोगद्वारा आज वीरगंजमा सूचना हाम्रो अधिकार, सुशासन र विकासको आधार भन्ने नाराको साथ आयोजित पर्सा जिल्लाका कार्यालय प्रमुख तथा सूचना अधिकारीहरूसँग सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै आयुक्त थापाले सूचनाको हक कार्यान्वयनमा सार्वजनिक निकायहरूको दायित्व बढेको बताउनुभयो ।
सो अवसरमा कार्यपत्र प्रस्तुत गर्दै आयुक्त थापाले नेपालको संवैधानिक इतिहासमा मौलिक हक तथा सूचनाका अधिकार सम्बन्धमा भएका व्यवस्थाहरू, सूचनाका हक सम्बन्धी विश्वव्यापी सिद्धान्त, सूचनाको हक किन र केका लागि, नेपालमा सूचनाका हक सम्बन्धी कानुनी व्यवस्था, सार्वजनिक निकायको दायित्व, आयोगको काम कर्तव्य अधिकार, सूचना अधिकारीको व्यवस्था, सूचनाको दुरुपयोग गर्दा हुने सजाय तथा क्षति पूर्तिका बारेमा जानकारी दिनु भएको थियो ।
कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गले सूचना लोकतन्त्रको प्राण भएको हुँदा सुशासन र पारदर्शिताका लागि सूचना लुकाउन नहुने कुरामा जोड दिनुभयो ।
उहाँले पर्सा जिल्लामा प्रत्येक महिना कार्यालय प्रमुखहरूको बैठक हुने र सो बैठकमा सबै सरकारी कार्यालयहरूका प्रवक्ताहरूले कार्यालयका कामका बारेमा जानकारी दिनु पर्ने व्यवस्था गरिएको पनि बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी तामाङ्गले राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो काम गर्नेलाई दण्डित गर्न आयोग पछि पर्न नहुने बताउँदै  राम्रा काम गर्ने सूचना अधिकारीहरूलाई पुरस्कृत गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा सूचना आयोगका उपसचिव कपिल प्रसाद उपाध्यायले स्थानीय तह जनप्रतिनिधि, कर्मचारी, समुदाय र समूहलगायत सँग सूचनाका हक सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा पर्सा जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरू, प्रवक्ताहरू, सुरक्षा निकायका प्रमुखहरू, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button