कालंगा जलविद्युत आयोजनाको ९० प्रतिशत काम सकियो

बझाङ । निजी क्षेत्रको लगानीमा निर्माण भइरहेको सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठुलो कालंगा जलविद्युत आयोजनाको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ ।
बझाङको बुङगल नगरपालिकामा निमार्णाधिन ६५ मेगावाट क्षमताको कालंगा जलविद्युत आयोजनाको ९० प्रतिशत निमार्ण कार्य सकिएको छ ।
झण्डै १० अर्बको लागत अनुमान गरिएको आयोजनाको ३८.४६ मेघावाटको अपर कालंगाको जलविद्युत आयोजनाको ८.७ किलोमिटर, १५.३३ मेघावाटको कालंगा जलविद्युत आयोजनाको ३.४ किलोमिटर र १०.०७ मेगावाट क्षमताको सानीगाड जलविद्युत आयोजनाको २.९ किलोमिटर सुरुङ निमार्णको काम सकिएको छ ।
१५.३३ मेगावाट क्षमताको आयोजनाको इन्टेक, सुरुङ, पेन स्टक, पाइप जडान र विद्युत् गृह निर्माणको काम सकिएको छ ।

९० प्रतिशतभन्दा बढी पूर्वाधार निर्माणको काम सकेको उक्त आयोजनाले यही चैतमा विद्युत् उत्पादनको तयारी गरेको छ ।
सन २०१७ देखि निमार्ण सुरु भएको आयोजनाले २०२० भित्रै काम सम्पन्न गर्ने लक्ष्य लिएको थियो ।
भौगोलिक किटताका कारण निमार्ण कार्यमा ढिलाइ भएको आयोजना कम्पनीले जनाएको छ ।
आयोजनाको पावर हाउस निमार्ण, बाँध, सुरुङ र पेन स्टक पाइप जडानको काम भइरहेको छ । टनेल निर्माणलाई अन्तिम रूप दिनुका साथै पावर हाउसमा विद्युतीय उपकरण जडानको काम भइरहेकोले समग्रमा ९० प्रतिशत आयोजनाको काम सकिएको आयोजनाका प्रमुख पुष्प चित्रकारले बताउनुभयो ।
उहाँले भन्नुभयो, “३८.४६ मेघा वाटको अपरकालंगामा टनेल फिनिसिङको काम भइरहेको छ । १५.३३ मेघा वाटको कालंगा जलविद्युत आयोजनाको सबै काम सकिएको छ । अब चैतमा परीक्षणको तयारीमा छौँ ।”
सन २०२० भित्रै निमार्ण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको भए पनि कोरोना महामारीले पारेको प्रभाव, भौगोलिक विकटता र वन सम्बन्धी कानुन र झन्झटिलो प्रशासनिक प्रक्रियाले पनि आयोजना ढिलाइ भएको हो । काममा ढिलाइ हुँदा लागत पनि बढेको छ ।

यो आयोजनाको निमार्ण सम्पन्न भएपछि ३ सय ५० जनाभन्दा बढी स्थानीयले रोजगारीको अवसर प्राप्त गर्ने छन् । यो आयोजनाले नेपालमा भइरहेको लोडसेडिङको समस्या कम गर्न सहयोग गर्ने अपेक्षा आयोजनाले लिएको छ ।
यो आयोजना सुदूरपश्चिमको विकासका लागि कोसेढुङ्गा साबित हुने कालंगा हाइड्रो प्रालीका संस्थापक वीरेन्द्र मल्लले बताउनुभयो ।
यस क्षेत्रमा विभिन्न उद्योगका लागि आवश्यक प्रशस्त कच्चा पर्दा छन् । विद्युत नहुँदा उद्योग स्थापना गर्न सकिएको छैन । यो आयोजना निमार्ण सम्पन्न भएसँगै विभिन्न उद्योग स्थापनाका लागि सम्भावना रहेकोले विभिन्न कलकारखाना तथा उद्योगहरू सञ्चालनमा पनि यस आयोजनाले सहयोग पुग्नेछ ।
आयोजना निमार्ण सुरु भएसँगै यस क्षेत्रका युवाहरूले योग्यता र दक्षता अनुसारको रोजगार पाइरहेको छन् । हिजोका दिनमा रोजगारका लागि विदेशिने युवाहरू हाल यसै आयोजनामा काम गरिरहेको र यस आयोजनाले बझाङको मुहार फेरिने मल्लले बताउनुभयो ।
जलविद्युत आयोजनाका निर्माणका लागि ७५ प्रतिशत बैकंहरुको लगानी र १५ प्रतिशत प्रतिष्ठित व्यापारीको लगानी रहेको छ ।
निजी क्षेत्रको लगानीमा निमार्ण हुन लागेको यो प्रदेशकै सबैभन्दा ठुलो जलविद्युत आयोजना भएको आयोजनाको दाबी रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्