किसान सेन्टर एक द्वार प्रणालीमार्फत कृषिको सूचना व्यवस्थित गर्छौ : मन्त्री अर्याल

काठमाडौँ । कृषि तथा पशुपन्क्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसान सेन्टर एक द्वार प्रणाली स्थापना गर्ने तयारी गरिएको बताउनुभएको छ ।
कृषि तथा पशुपन्क्षी बिटमा समाचार रिपोर्टिङ गर्ने विभिन्न सञ्चार माध्यमका पत्रकारहरूसँग आज भेटघाट गर्नुहुँदै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।
कृषिको सूचना व्यवस्थित गर्ने सन्दर्भमा किसान सेन्टरमार्फत एक द्वार प्रणाली स्थापना गर्ने तयारीमा रहेको मन्त्री अर्यालले बताउनुभएको हो ।
“प्रविधि प्रसारण र प्रविधि हस्तान्तरण महत्त्वपूर्ण कुरा हो । अहिले जम्मा २० प्रतिशत किसानले मात्र प्रविधिको प्रयोग गर्ने रहेछन्”, मन्त्री अर्यालले भन्नुभयो, “प्रविधिको प्रयोग गर्ने किसानहरूको सङ्ख्या बढाउँदै जानुपर्छ । हामीले किसान सेन्टर एक द्वार प्रणालीको स्थापना गरेर कृषिको सूचना व्यवस्थापन गर्छौ ।”
मन्त्री अर्यालले कृषिभित्र रहेको मिलीजुली ठेकेदारी प्रथा, अनुदानमा बेथिति जस्ता विकृतिलाई तोडेर जाने बताउनुभयो । उहाँले भन्नुभयो, “तपाईँहरूले बारम्बार उठाउँदै आउनुभएको छ । कृषिमा मिलीजुली, ठेकेदारी प्रथा, अनुदानमा बेथिति जस्ता समस्या रहेका छन् । यति पैसा लगेपछि यति मलाई भन्ने विकृति तोडेरै छाड्छौँ । यसलाई तोडेरै हामी जान्छौ ।”

कालीमाटी फलफूल तथा तरकारी बजारमा देखिएको बेथिति तोड्नका निम्ति कार्यविधि बनाइसकेको भन्नुहुँदै मन्त्री अर्यालले त्यहाँ देखिएको फोहोर व्यवस्थापन, स्टल व्यवस्थापन र सवारी साधन व्यवस्थापनमा देखिएका समस्यालाई सिस्टममा ल्याएरै छाड्ने बताउनुभयो ।
उहाँले हिजोको कालीमाटी नभएर फरक खालको कालीमाटी देख्न पाउने समेत बताउनुभयो ।
आफूले पदभार ग्रहण गर्दै गर्दा उखुँँ किसानहरूको चर्को समस्या रहेका भन्नुहुँदै समस्या समाधानका निम्ति के गर्न सकिन्छ भनेर उपायहरू खोज्दै जाँदा सम्बन्धित मन्त्रालय नभए पनि किसानहरूको मर्का समाधान गर्न ३ दिनभित्र निकास निकालेको बताउनुभयो । अहिले धेरै उखु किसानहरूले भुक्तानी पाइसकेको र यो क्रम बढिरहेको उहाँले बताउनुभयो ।
मलको समस्या समाधान गर्न दीर्घकालीन रुपमा मलको समस्या समाधान हुने गरी अगाडी बढेको मन्त्री अर्यालको भनाई छ । “मलको समस्या आजको समस्याको समाधानसँगै दीर्घकालीन रुपमा के समाधान दिन सकिन्छ भनेर हामी अगाडी बढेका छौँ ”, मन्त्री अर्यालले भन्नुभयो, “अब रासायनिक मलको अभावमा किसानहरू छटपटाउनुपर्दैन । हामी त्यही समस्या समाधान गर्नका निम्ति लागिरहेका छौँ ।” तर खुला सिमानाका कारण भारतबाट मल आउने र त्यसबाट उत्पन्न हुने विकृतिलाई तत्काल रोक्न सक्ने अवस्था नभए पनि व्यवस्थित भने गरिने मन्त्री अर्यालको भनाई छ ।

उहाँले मलको समस्या समाधान गर्न सातै प्रदेशमा रासायनिक मलको भण्डार स्थापना गर्ने गरी मन्त्रालय अगाडि बढेको बताउनुभयो ।
इजरायली प्रविधिको कृषि प्रणाली भित्राउन इजरायल सरकारसँग सम्झौता भएर प्राविधिक समिति गठन भइसकेको भन्नुहुँदै मन्त्री अर्यालले यो वर्ष एक प्रदेशमा यो कार्यक्रम लागु गरिने र बिस्तारै सातै प्रदेशमा बिस्तार गरिने बताउनुभयो ।
पशुपन्क्षीको क्षेत्रमा नीतिगत रूपमै व्यवस्थित गर्ने बताउनुहुँदै मन्त्री अर्यालले अण्डा र मासुमा नेपाल आत्मनिर्भर भयो भनेर छिट्टै घोषणा गर्ने चरणमा रहेको बताउनुभयो । दूधमा पनि नेपालले धेरै राम्रो प्रगति गरेको उहाँको भनाई ।








प्रतिक्रिया राख्नुहोस्