तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पाका कृषक व्यावसायिक स्ट्रबेरी खेतीमा  

पाल्पा । पाल्पाका कृषकहरू ब्यबसायिक रुपमा स्ट्रबेरी खेतीमा लागेका छन् ।

जिल्लाको रिब्दीकोट, रम्भा, माथागढी गाउँपालिका लगायतका स्थानीय तहमा अहिले व्यावसायिक खेती गर्न थालिएको छ ।

चालु आर्थिक वर्षदेखि कृषि ज्ञान केन्द्र पाल्पाले जिल्लाका कृषकहरूलाई स्ट्रबेरी बिरुवा उपलब्ध गराएको थियो ।

नुवाकोटको ककनीबाट ९ हजार जापानीज जातको बिरुवा ल्याई केन्द्रले कृषकहरुलाई दिएको थियो । केन्द्रले अहिले रिब्दीकोट गाउँपालिकाको रानीठाटी, रम्भा गाउँपालिकाको हुमिन र माथागढी गाउँपालिकाको ओलेसमा यसको व्यावसायिक खेतीका लागि कृषकलाई कृषि सामग्रीसहित बिरुवा उपलब्ध गराएको छ ।

यस क्षेत्रका कृषकहरूले स्ट्रबेरीको पहिलो र दोस्रो उत्पादन लिइसकेको कृषि ज्ञान केन्द्रका प्रमुख शिव प्रसाद अर्यालले बताउनुभयो ।

उहाँका अनुसार यसबाट राम्रै उत्पादन भएकाले कृषकहरू समेत उत्साहित भएका छन् । यसले लगाएको दुई महिनादेखि नै फल दिन थाल्ने र चार महिनासम्म रहने कृषि प्राविधिकहरू बताउँछन् ।

रिब्दीकोटको रानीठाटीमा ४ रोपनी क्षेत्रफलमा त्यहाँका कृषकहरूले अहिले स्ट्रबेरी लगाएका छन् ।

रिब्दीकोट गाउँपालिकाको भैरव स्थानकी अम्बिका गौतमले स्ट्रावेरीलाई चित्रमा मात्र देख्नुभएको थियो । फल कस्तो होला, बोट कस्तो होला भन्ने थियो । जब आफ्नै बारीमा यसको फल लाग्न थालेपछि आफूलाई सपना जस्तो लागेको उहाँले आफ्नो अनुभव बताउनुभयो ।

गौतम जस्तै महिला अगुवा कृषक पविता थापाले पनि यो फल फोटोमा मात्र देखेको बताउनुभयो । अहिले यसको खेती गरेको र उत्पादन पनि राम्रै भएको उहाँ बताउनुहुन्छ ।

रम्भा गाउँपालिका हुमिनका महिला अगुवा कृषक कल्पना गहतराजले नयाँ खेती र नयाँ फल भएकाले यसको माग अत्याधिक हुने गरेको बताउनुभयो ।

एक पटक लगाएपछि त्यही बोटबाट बिरुवा बनाउन सकिने बहु वर्षीय फल भएकाले पनि निकै सजिलो भएको उहाँको भनाई छ ।

कृषकहरूलाई कृषि ज्ञान केन्द्रले बिरुवा, प्राविधिक ज्ञान, आवश्यक मल खाद जस्ता सामग्रीको सहयोग गर्दै आएको जनाएको छ । जसले गर्दा पनि कृषकहरू उत्साहित देखिएका छन् ।

सामुद्रिक सतहबाट १५०० देखि २५०० मी. सम्मको उचाइ, ४ देखि २५ डिग्री सेल्सियस सम्मको तापक्रम, दोमट बलौटे प्रकारको माटो, वार्षिक ३००० देखि ४००० मि.ली. वर्षा हुने क्षेत्र विशेष गरी पूर्वी तथा उत्तर पूर्वी मोहडा भएको क्षेत्रमा यसको खेती गर्न सकिने कृषि प्राविधिकहरू बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button