पर्यटन प्रवर्द्धन गर्न नारी दिवसमा व्यास गुफादेखि तनहुँसुरसम्म महिला हाफ म्याराथन

तनहुँ । तनहुँको व्यास नगरपालिकाले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा फागुन २४ गते दमौलीको व्यास गुफाबाट तनहुँसुरसम्म महिला हाफ म्याराथन गर्ने भएको छ ।
यसअघि नगरपालिकाले मानहुँकोट देखी पुलिमर्याङ शहिद पार्क सम्म ४४ कि.मी दुरीको खुल्ला अल्ट्रा म्याराथन गर्दै आएको थियो ।
२१ किलोमिटर दुरीको दौडका लागि नगरपालिकाले आवश्यक तयारी अघि बढाइरहेको नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो ।
नगरपालिकाले बिहिबार गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले महिलाको सम्मान र पर्यटकीय तथा धार्मिक ठाउँको प्रचारका लागि प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो । ‘प्रतियोगिताका कारण मानुङमा पर्यटकको आकर्षण देखिएको छ,’ उहाँले भन्नुभयो,‘ऐतिहासिक स्थल तनहुँसुरको पनि प्रचारप्रसार गर्न महिलाको दौड आयोजना गरेका हौं ।’
धार्मिक स्थल व्यास गुफाबाट शुरु हुने दौड ऐतिहासिक स्थल तनहुँसुर दरबार पुगेर सकिनेछ ।नगर उप प्रमुख मिरा जोशीले गत वर्ष नै अन्तर्राष्ट्रिय नारी दिवस कै अवसरमा आयोजना गर्ने तय गरेको भए पनि कोभिड–१९ का कारण स्थगित भए पनि यसपाली आयोजना हुन लागेको बताउनुभयो ।
प्रथम पुरस्कार ४१ हजार ७७, दोश्रो पुरस्कार ३१ हजार ७७ तथा तेश्रो पुरस्कार २१ हजार ७७ तय गरिएको छ । यसैगरी सान्त्वना पुरस्कार पाँच जनालाई जनही ११ हजार ७७ प्रदान गर्ने नगरपालिकाले घोषणा गरेको छ ।
म्याराथन आयोजनाका लागि नगर प्रमुखको संयोजकत्वमा सबै नगर सभा सदस्यहरु सदस्य रहने गरी मुल आयोजक समिति गठन गरिएको छ । जसअन्तरगत विभिन्न गठित नौ उप समितिहरु गठन गरिएको छ ।
दौड रुट व्यास गुफा देखी सफासडक हुदै ट्राफिक चोक, भोर्लेटार चोक, पृथ्वी राजमार्गको तालघरे, मुसेखोला, घाँसीकुवा, पराशर मार्गको सेरा, वेलटारी, खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, गंगलथोक, पत्यारथोक,चण्डीथान, गद्दीचौतारा हुदै व्यास नगरपालिका वडा नं ११ स्थित ऐतिहासीक तनहुँसुर दरबारसम्म रहनेछ ।
म्याराथनका लागि आयोजकले पाँच स्थानमा चेकपोइन्टको व्यवस्था गरेको छ । चेकपोईन्टमा धावकहरुले दौडको नियम पालना गरे नगरेको निरिक्षण गरिनेछ भने धावकका लागि पानि, चकलेट साथसाथै स्वास्थ्य संग सम्बन्धित आवश्यक सम्पुर्ण सामाग्रीहरु सम्बन्धित वडाहरुमा टोल विकास संस्थाहरुको सहभागितामा राखिने नगरपालिकाले जनाएको छ ।
चेक पोईन्ट व्यास–१२ घाँसीकुवा, व्यास–११ बेलटारी वडा कार्यालय, अर्चलचौर, धरमपानी र तनहुँसुर दरवारमा हुने नगरपालिकाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्