नेपालगञ्ज विमानस्थलमा पहिलो पटक वृहत् आपतकालीन पूर्व अभ्यास गरिने
बाँके । नेपालका आन्तरिक विमानस्थलमध्ये बाँकेको नेपालगञ्ज राँझा विमानस्थलमा शुक्रवार वृहत् आपतकालिन पूर्व अभ्यास गरिने भएको छ ।
विमानस्थल क्षेत्रभित्र जहाज दुर्घटना भएको अवस्थामा विमानस्थल सञ्चालन र आपतकालीन उद्धारमा सरोकारवालाहरूको सक्रियतालाई व्यवहारिक रूपमै अभ्यास गर्न यस प्रकारको काम गर्ने गरिन्छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको मापदण्ड भित्र रहेर शुक्रवार १० देखि साढे १० बजेको बिचमा विमानस्थलमा यस्तो अभ्यास गर्न लागिएको विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले बताउनुभयो । उहाँका अनुसार यो अवधिमा विमानस्थल बन्द हुने समेत जानकारी दिनुभयो ।
फायर फाइटर, सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका उद्धार टोली विमानस्थलमा आउनेछन् । एम्बुलेन्स तथा दमकलसमेत तयारी अवस्थामा राखी फुल स्केलको आपतकालिन अभ्यास गर्न लागिएको हो ।
नेपालगञ्ज विमानस्थल प्रमुख ठाकुरका अनुसार काठमाडौँमा यस प्रकारको अभ्यास नियमित हुन्छ ।
आन्तरिक विमानस्थलमा तयारी र अभ्यासका काम हुने भए पनि वृहत् अभ्याससहित पहिलो पटक नेपालगन्जमा कार्यक्रम गर्न लागिएको प्रमुख ठाकुरले जानकारी दिनुभयो ।
पूर्णकालीन अभ्यासका लागि भैरहवा, धनगढी, जुम्लासहित आसपासका अन्य विमानस्थलबाट समेत प्राविधिक नेपालगञ्ज आउने भएका छन् । वायुसेवा कम्पनीहरूले समेत यसका लागि आफ्ना विमानस्थल प्रमुखहरूलाई समेत नेपालगञ्ज बोलाएका छन् ।
व्यवहारिक अभ्यास भएको र आपतकालिन अवस्थामा अपनाउनु पर्ने कामबारे जानकारी हुने भएकाले सरोकारवाला सबैको सहभागिता सुनिश्चित गरिएको ठाकुरले जानकारी दिनुभयो । नेपालगञ्ज विमानस्थल नेपालको आन्तरिकतर्फ सबै मौसममा सबैभन्दा व्यस्त विमानस्थल पनि हो ।








प्रतिक्रिया राख्नुहोस्